नेपालको ऋण २० खर्ब नाघ्यो; देउवा सरकारले ३ महिनामै डेढ खर्ब ऋण लियो

गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको



भदौ १७ गते । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।

 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा यो ऋण करिब तीन खर्ब रुपियाँले बढी हो । आव २०७७/७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपियाँ थियो ।

 

ऋणको आकार बढ्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ । कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४१.४७ प्रतिशत पुगेको छ । यस्तो अनुपात अघिल्लो आर्थिक वर्ष ४०.७२ प्रतिशत मात्र थियो । सार्वजनिक ऋणको आकारलाई जनसङ्ख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब ६९ हजार रुपियाँ पुगेको छ ।

 

तिरियो एक खर्ब १७ अर्ब 

सार्वजनिक ऋण लिएबापत नेपालले गत आर्थिक वर्ष एक खर्ब १७ अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । यसमा साँवा र ब्याज दुवै जोडिएको छ । कार्यालयका अनुसार आव २०७८/७९ मा नेपालले ७२ अर्ब ८० करोड रुपियाँ साँवा र ४४ अर्ब ६१ करोड रुपियाँ ब्याज भुक्तानी भएको हो ।

 

त्यस्तै ऋणको भुक्तानी प्रवृत्ति हेर्दा नेपालले बाह्य ऋणबापत साँवा भुक्तानीलाई बढी जोड दिएको पाइन्छ । त्यस्तै आन्तरिक ऋणबापतको ब्याज भुक्तानीमा बढी खर्च भएको देखिन्छ ।

 

यसै अवधिमा नेपालले चार करोड १० लाख रुपियाँ जरिवाना तिर्नुपरेको छ । तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरेबापत उक्त जरिवाना तिर्नुपरेको देखिन्छ । यद्यपि तोकिएको समयमै साँवा ब्याज भुक्तानी गर्नेमा नेपालको स्थिति तुलनात्मक रूपमा राम्रो छ ।

 

तीन महिनामै डेढ खर्ब ऋण

कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै नेपालले एक खर्ब ६६ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । आव २०७८÷७९ को चौथो त्रैमासिकमा लिइएको उक्त ऋणमध्ये ४० अर्ब ३३ करोड रुपियाँ बाह्य ऋण रहेको छ ।

 

बाह्य ऋण डलरमा भुक्तानी हुने र डलरको भाउ उच्च रूपले बढ्दा नेपालले तिर्नुपर्ने ऋणको भार पनि बढेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसरी विनिमय दरमा भएको वृद्धिले  मात्र उक्त त्रैमासिकमा नेपालले २२ अर्ब सात करोड रुपियाँ घाटा बेहोर्नुपर्ने देखिन्छ, जसले गर्दा ४० अर्ब रुपियाँको बाह्य ऋणको भार ५३ अर्ब रुपियाँ नाघेको छ ।

 

यो ऋणमा नेपालले उक्त अवधिमा तिरेको नौ अर्ब २२ करोड रुपियाँ साँवा भुक्तानी कटाइएको छ ।

 

त्यस्तै चौथो त्रैमासिकमा नेपालले एक खर्ब २५ अर्ब ८२ करोड रुपियाँ आन्तरिक ऋण उठाएको छ । सो अवधिमा आन्तरिक ऋणबापत नेपालले १८ अर्ब रुपियाँ ब्याज भुक्तानी गरेको छ । कुल आन्तरिक ऋणमा ब्याज घटाउँदा उक्त अवधिमा एक खर्ब छ अर्ब ९५ करोड रुपियाँ आन्तरिक ऋण कायम भएको छ ।

 

बहुपक्षीय निकायबाट धेरै

सोही अवधिमा नेपालले बहुपक्षीय निकायहरूबाट ३७ अर्ब ४३ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय निकायबाट भने दुई अर्ब ८९ करोड रुपियाँ मात्र ऋण लिएको देखिन्छ ।

 

चौथो त्रैमासिक आर्थिक वर्षको अन्तिममा पनि पर्ने भएकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण बढी उपयोग गरिएको देखिएको छ । उक्त अवधिमा सरकारले आन्तरिकतर्फ ५३ अर्ब ९१ करोड रुपियाँ टे«जरी बिलबाट र विकास बन्डबाट ७१ अर्ब ९० करोड रुपियाँ ऋण उठाएको छ ।

Comments Box