सावधान: रुपवती महिलाको ‘हनी ट्रयाप’मा परिएला



भदौ १२ गते । कानुनी भाषामा आपराधिक लाभ लिन नहुने कुरालाई प्रहरीले बोलीचालीको भाषामा ‘हनी ट्रयाप’ भन्नेगरेको छ । मीठो बोली, राम्री युवती ‘रुपवती र कामुक’ को प्रयोग गरी गरिने अपराध भएकाले हनीजस्तै गुलियो भन्न ‘हनी’ शब्दको प्रयोग गरिएको हो ।

 

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कृष्णप्रसाद कोइरालाका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत् राम्री युवतीहरुको फोटो वा युवतीलाई नै प्रयोग गरेर ‘ब्ल्याकमेल’ गरेर मानिसलाई फसाउने काम हुन्छ ।

 

उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा आएको फ्रेण्ड रिक्वेस्ट चेक नगरी एक्सेप्ट गर्नु हुँदैन । राम्रो देखेर सजिलै एक्सेप्ट गरेर कुराकानी गर्दै जाँदा फसिन्छ । भोली नाम, दाम सबै जान सक्छ ।”

 

 

शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने कला नै ‘हनी ट्रयाप’ हो । प्रायः हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गर्नेगरेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

 

“पुरुषलाई जालमा पारिन्छ । शारीरिक शक्तिका कारण पुरुष पहिलाको मुट्ठीमा सजिलै पर्छन् । सेक्सको लोभमा पुरुषलाई योजनावद्ध रुपले आफूअनुकूल ठाउँ र समयमा फसाइन्छ । स्वार्थपूर्ति गरिन्छ” प्रवक्ता कोइरालाले भन्नुभयो, “रुपवती र कामुक युवतीहरु हनी ट्रयापमा पुरुषलाई बढी पार्छन् ।”

 

कतिपय युवती योजनाकार नै हुनेगरेको उहाँको बुझाइ छ । पुरुषहरु युवतीको कामुकताको जालमा परेर उम्कन नसक्नेगरी फँस्छन् उहाँले भन्नुभयो, “फसेपछि कुरा अघि बढ्छ ।

 

कुरा बढेपछि चिया, कफी हुन्छ । प्रस्ताव स्वीकार हुन्छ । भेटघाट बढेपछि होटेल बुकिङ्ग हुन्छ । दिनमा चार–पाँच पटक फोन हुन थाल्छ । दैनिकजसो लञ्च, खाजाको आग्रह हुन्छ । भेटघाट बढेपछि ट्रयापमा परिन्छ । ट्रयापमा पर्नु भनेको फस्नु हो ।”

 

उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असार ३ गते मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई पक्राउ गरेको थियो ।

 

पक्राउ पर्नेमा सूर्यविनायक –९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, ढुसेनी –३, काभ्रेपलाञ्चोककी १८ वर्षीया मनिषा परियार, हलेसी –७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी –७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ –५, दोलखाका २५ वर्षीया निमा लामा र ३० वर्षीय पासाङ लामा रहेका थिए ।

 

उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

 

प्रवक्ता कोइरालाका अनुसार गिरोहले ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सबै विवरण राख्ने गरेका थिए । “सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्नेगरेको पाइएको थियो” कोइरालाले भन्नुभयो, “दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल, पत्रकार खडा गरेर मोलमोलाई गरी हैरानी दिनेगरेको खुलेको छ ।”

 

विश्वासघात कसुर

‘हनी ट्रयाप’ गरे आपराधिक विश्वासघातको कसुर अन्तर्गत कारबाही हुन्छ । पुरुषलाई भेट्न बोलाएर कोठामा सँगै बस्ने भिडियो गोप्यरुपमा रेकर्ड गर्ने र सोही भिडियो म्यासेन्जरमार्फत् पीडितलाई पठाएर ब्ल्याकमेलिङ गर्नेजस्ता आपराधिक गतिविधि गरी लाखौं रकम लिनेलाई प्रहरीले पक्राउ गरी कारबाही गर्दैआएको छ ।

 

यस्तोप्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि भिडियो भाइरल गराई बद्नाम गराउने तथा बलात्कारको मुद्दा लगाउनेसम्मको डर त्रास देखाएर रकम असुल गर्नेगरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

आठ महिनामा चार हनी ट्रयापिङ केस

उपत्यका अपराध अनुसन्धान कार्यालयमा आठ महिनामा चार वटा हनी ट्रयापको केस आएको छ । लामो समयदेखि हनी ट्रयापिङ हुन थालेको छ । आर्थिकरुपमा सम्पन्न मानिसलाई विभिन्न प्रलोभन दिने, महिलाले सम्पर्क बढाउने र गोप्य क्यामेरासमेत बोकेर जाने र फसाउन थालेपछि यो एउटा अपराधिक पेशाको रुपमा अघि बढेको छ ।

 

काठमाडौंमा मात्रै नभइ यो अपराध नेपालका सबै शहरी क्षेत्रमा फैलिएको प्रवक्ता कोइरालाको भनाइ छ ।

 

‘इजी मनी’का लागि गरिने अपराध

सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी मानिससँग सम्पर्क गरेर भेटघाट गर्ने वातावरण बनाउने काम हुन्छ । पुरुषसँग सम्पर्क बढाएर रेस्टुरेन्टमा लगेर खाजा खुवाउन बोलाउने र सामाजिक सञ्जालबाट भएको सम्पर्कमा परेर रेस्टुरेन्टसम्म पुग्ने पुरुष उनीहरुको जालमा पर्ने गरेका छन् ।

 

“राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि निम्तो दिएर फसाउने अपराधलाई ‘हनी ट्रयापिङ’ नाम दिइएको हो” प्रवक्ता कोइरालाले भन्नुभयो, “इजी मनीका लागि गरिने अपराधको शैली हनी ट्रयापिङ हो ।”

 

चाँडो पैसा कमाउने भएकाले अपराधिक मानसिकता भएका केटा र केटीहरु दुबै मिलेर यस्तो अपराध गर्नेगरेका प्रवक्ता कोइरालाले बताउनुभयो ।

 

यो समाचार गोर्खापत्र दैनिकमा छापिएको छ ।

Comments Box