नगरपालिकाका उपप्रमुख सहित ८ जनाबिरुद्ध जाहेरी दर्ता; चम्पावती हाइड्रोले माग्यो ३० करोड क्षतिपूर्ति

२०४९ सालदेखि राइनासटार नहरबाट सिँचाइ हुँदै आएको



चेपे ए जलविद्युत् आयोजनाको कार्यालय तथा सवारीसाधन तोडफोड र आगजनी गर्नेबिरुद्ध ३० करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै चम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ।

 

तोडफोड र आगजनीको नेतृत्व गरेको भन्दै राइनासटार नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल र श्रीकृष्ण पौडेलसहित ८ जनाबिरुद्ध सो कम्पनीका इञ्जिनियर हरिकृष्ण पौडेलले सोमबार जाहेरी दर्ता गराएका हुन्।

 

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको चम्पावती हाईड्रोपावरले ३० करोड क्षतीपूर्ती माग गर्दै जिल्ला प्रहरी कार्यालय गोरखामा सोमबार उजुरी दर्ता गरेको छ।

 

भवन, फर्निचर, सवारी साधनलगायतका भौतिक संरचनामा भएको क्षतिको तीन करोड ४० लाख र आयोजनाको निर्माणमा हुन गएको ढिलाइबाट बढ्न जाने लागत, उत्पादन ढिलो हुँदा हुन जाने घाटासहित ३० करोड क्षतिपूर्ति माग दाबी गरिएको कम्पनीका इञ्जिनियर पौडेलले बताए।

 

लमजुङको राइनास नगरपालिकास्थित राइनासटारको करिब १२०० हेक्टर खेतमा सुख्खा लाग्ने भन्दै गत शनिबार पाँचसय जना भन्दा धेरै किसानहरूले गोरखाको सिरानचोक गाउँपालिका २ मा रहेको कार्यालय भवन र अन्य संरचनामा तोडफोड तथा आगजनी गरेका थिए।

 

घटनापछि अहिले एक सय ५० जना कामदार कामबिहीन भएका इन्जिनियर पौडेलले बताए। ‘अहिले काम गर्ने वातावरण नै छैन, हरेक दिन क्षति थपिँदो छ’, उनले भने, ‘प्रतिनिधिमूलक रुपमा छलफल गरेको भए हुन्थ्यो, तर, एक्कासी आएर प्राविधिक कुरा नुबझी स्थानीयले तोडफोड र आगजनी गरे।’

 

सो जलविद्युत् आयोजनाले गर्दा दशकौंअघि निर्माण भएर किसानले लाभ लिइरहेको राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा दुई सय मिटर तल पानी झार्ने हुँदा किसान मर्कामा पर्ने भएकाले किसान आक्रोशित बनेका राइनासका स्थानीय श्रीकृष्ण पौडेलले बताए।

 

‘नहरभन्दा माथि पानी झार्नुपर्छ भनेर यसअघि किसानहरूले सो आयोजना कार्यालय, कम्पनीको कार्यालय, ऊर्जामन्त्रालय, सिँचाइ मन्त्रालय धाएको धायै गरे । तर, जलविद्युत् आयोजनाका सञ्चालकहरूले किसानको आवाजको वास्तै नगरी निर्माणको काम धमाधम सञ्चालन गरिरहे’, पौडेलले भने, ‘त्यसैले आक्रोशित भएर किसानहरूले तोडफोड र आगजनी गरेका हुन्।’

 

चेपे ए जलविद्युत् आयोजनाका प्रवर्धक कम्पनी चम्पावती हाइड्रोपावर कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने चर्चा गरिएजस्तो नहरको बाँधभन्दा आयोजनाको निकास तल झर्ने कुरा कुरा झुटो भएको दाबी गरेका छन्।

 

सो घटनाका कारण ७० प्रतिशत काम सकिएको सो आयोजना अहिले अलपत्र अबस्थामा रहेको अध्यक्ष पराजुलीले बताए। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले केही व्यक्तिको नामसहित जाहेरी आएको र घटनाको अनुसन्धान भइरहेको बताए।


२५ मंसिर २०७९, आईतवार

शृङ्खलावद्द विरोधपछी चम्पावती हाईड्रोमा आगजनी

गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्।

 

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ।

 

आयोजनामा पानी लैजादा आफूहरूको खेतमा सिँचाइ गर्न नपाइने भन्दै किसानहरू आन्दोलित भएका हुन्।

 

स्थानीय राइनासटार सिँचाइको नहरबाट पानी नलैजाने हो भने करिब १२ सय हेक्टर खेत सुख्खा लाग्ने किसानहरूको भनाइ छ।

 

राइनासटार सिँचाइको बाँधभन्दा माथि नै आयोजनाको पानीको निकास गरिनुपर्ने माग किसानहरूको छ। तर बाँधभन्दा करिब २ सय मिटर तल आयोजनाको पानीको निकास हुने भन्दै किसानहरू आन्दोलित छन्।

 

तर आयोजनाले भने राइनासटार सिँचाइभन्दा माथि नै पानीको निकास गरिने हुँदा खेत सिँचाइमा प्रभाव नपर्ने बताइरहेको छ। तोडफोडबाट करिब एक करोडको क्षति भएको आयोजनाले जनाएको छ।

 

२०४९ सालदेखि राइनासटार नहरबाट यहाँका खेतमा सिँचाइ हुँदै आएको छ।


१६ कार्तिक २०७९, बुधबार

चेपे खोलामा काम गरिरहेको चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

 

पुस ९ गते कम्पनीको १३ औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ ।

 

चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ । कम्पनीको अध्यक्षमा डा हरिराम पराजुली छन् ।

Comments Box