
गतवर्ष जेठ अन्तिम साता र असारमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ जिल्लालाई नराम्ररी प्रभावित गर्यो । वाढीले सडक क्षत-विक्षत पार्यो भने बिधुत संरचनाहरु ध्वस्त पार्यो ।

गत साता नेपाल विद्युत् प्राधिकरणले मनाङमा पहिलोपटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा ल्याएको छ । दुई वर्षदेखि निर्माण सुरु गरिएको ३३/११ केभीको नेपालकै सबैभन्दा उचाइमा रहेको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने नेविप्रा मनाङ वितरण केन्द्रले जनाएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको हो । गत साल पौषसम्म सकिनु पर्ने स्यार्कु सबस्टेसनको काम यो साल मात्र सकिएको हो ।
तिमाङ र थान्चोकमा पनि राष्ट्रीय प्रसारण लाईन
यसअघी स्थानिय माईक्रो हाईड्रोबाट विधुत उपभोग गरी रहेका चामे गाउँपालिकाको तिमाङ र थानचोक गाउँमा पनि अब भने राष्ट्रीय प्रसारण लाईनबाट विधुत पुर्याईएको छ ।
स्यार्कु सबस्टेसबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको योजना रहेको छ ।
मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्याइएको थियो । यसअघि उक्त क्षेत्रमा विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो ।