फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बनाईएको बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ



काठमाडौं, १९ असार: काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ । 

 

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने गरी हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुर्‍याएको छ । 

 

विभागले निर्माण सम्पन्न गरेर पनि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । तर, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले पनि आयोजना सञ्चालन गर्ने विषयमा आयोजित कार्यक्रमप्रति नै बेवास्ता गरेका छन् । साहकै आग्रहमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग  गर्न सकिने प्रविधि प्रयोग कार्यक्रममा अनुपस्थित भएका हुन् ।  

 

नगरप्रमुख साहकै आग्रह गरिएको कार्यक्रममा  सहभागी नभए पनि बन्चरेडाँडा ल्याण्डफिल साइटबाट संकलित लिच्चड प्रशोधनमार्फत प्रयोग गर्न सकिने गरी परीक्षण सफल भएको  बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले बताएको छ । 

 

बन्चरेडाँडा ल्याण्डफिल साइटको दुई वटा सेलमा विसर्जन गरिने फोहोरबाट निस्कने दूषित पदार्थ (लिच्चड) जम्मा गर्नको लागि  २० हजार घनमिटर क्षमताको दुई वटा ट्याङकी निर्माण गरिएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको बन्चरेडाडाँ ल्याण्डफिल साइटका आयोजना निर्देशक रवीन्द्र बोहराले बताए । 

 

उनका अनुसार उक्त लिच्चड शोधनपछि  माछा पालनका लागि समेत प्रयोग गर्न सकिने छ । बोहराले भने,‘बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिच्चडले २० हजार घनमिटर ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिन्छ भनेर प्रदर्शनी आयोजना गरिएको हो ।’ 

 

गत बिहीबार सहरी विकास मन्त्री मेटमणि चौधरी सहित मन्त्रालयमा भएको कार्यक्रममा लिच्चड व्यवस्थापनको प्रविधिको बारे जानकारी लिँदै मेयर बालेन्द्र साहले प्रदर्शनी आयोजना गर्न आग्रह गरेका थिए । आयोजनाले ल्याण्डफिल साइटलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजित  प्रदर्शनी कार्यक्रम  साह अनुपस्थित हुँदा डिजाइन अनुसार फोहोर विसर्जन हुनेमा आशंका व्यक्त गरेको छ । 

 

प्रविधि प्रदर्शनी   गर्न लगाएर आफै नआउँदा उक्त प्रविधिको कार्यान्वयन नै अलपत्र परेको हो । उक्त प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नेइबाट विज्ञ टोली समेत डाकिएको थियो । उक्त प्रविधि प्रयोग महानगरले लिच्चड व्यवस्थापन गरेको अवस्थामा आर्थिक दायित्व दायित्व महानगरले नै व्यहोर्नु पर्ने छ । 

 

यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफै उपस्थित नहुँदा मन्त्रालय र विज्ञले भने चित्त दुखाएका छन् । बालेन्द्रले कार्यक्रम आयोजना गर्न लगाएर झण्डै ६ घण्टा कुर्दा पनि पनि नआएको मन्त्रालयको टोली र विज्ञ टोली खिन्न बनेको  थियो । 

 

शनिबार स्वास्थ्य, वातावरण र जलवायु फाउन्डेसनले बन्चरेडाडाँको लिच्चड संकट र प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएको  थियो । फाउन्डेसनका निर्देशक महेश नकर्मीले यसअघि संस्थाले थुप्रै अस्पतालको लिचेट समेत प्रशोधन गरी प्रयोगयोग्य बनाइसकेको जानकारी दिए ।  उनले काठमाडौं महानगरपालिकाले प्रविधि प्रयोग गर्न चाहे नेपालमा मेशिन भित्र्याइने जनाकारी दिए ।


२ फाल्गुन २०७७, आईतवार

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण सुरू: विसं २०७६ वैशाख २२ गते सम्पन्न गर्ने समय: एक वर्ष

ठेकेदार: लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)

निर्माण: लागत भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा

बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुपको काम सम्पन्न भइसकेको छ।

 – शर्मिला पाठक/ काठमाडौँ(रासस):

यही फागुन अन्तिम सातादेखि  बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ। शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो।

 

पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न सकिने बताएको छ। अनुमगनका क्रममा शहरी विकासमन्त्री प्रभु साहले पहिलो चरणको काम तेस्रो सातासम्ममा सक्न र अन्तिम साताबाट फोहर विसर्जन गर्न सक्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ।

 

सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री साहले काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभएको छ।

 

दीर्घकालीन योजनासहित सरकारले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणको काम गरिरहेको भन्दै सोही मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले निर्माण सम्पन्न भएपछि उपत्यकावासीलाई कम्तीमा ५० वर्षका लागि ढुक्क हुने भन्दै छिट्टै निर्माणको काम सम्पन्न गर्न आग्रह गर्नुभयो।

 

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साइट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिबद्वता जनाउनुभयो। अहिलेसम्ममा पहिलो चरणको काम ९० प्रतिशत सकिएको छ भने बाँकी कामका लागि पनि कानूनी प्रक्रिया पूरा गरी काम अघि बढाउनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दबाडीले जानकारी दिनुभयो।

 

केही समय कोरोना भाइरसका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण  काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको  प्रवक्ता दबाडीको भनाइ छ। हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ। काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप उक्त जिम्मेवारी पाएको हो। उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माणको हुने छ।

 

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो। निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुप उक्त काम अहिले सम्पन्न भइसकेको छ। शहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ।

 

तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ। अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन्।

 

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। जसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ।

Comments Box