फोहर व्यवस्थापन नहुँदा वाग्मती प्रदूषित बन्दै



८ भदौ (रासस) :  प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएकोे छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो ।

 

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने फोहर व्यवस्थापन नगर्दा उक्त स्थानका साथै नजिकैको वाग्मती नदी पनि प्रदूषित भएको छ । अहिले नदी किनारमा प्लाष्टिकका खोल, पेय पदार्थका खाली बोतल देखिन्छन् ।

 

भगवान् शिव–पार्वतीको आस्थाको धरोहर बनेकोे नूनथर र नदीमा फोहर बढ्नु दुःखद् भएको वडा नं १ का वडाध्यक्ष वीरबहादुर राखालले बताउनुभयो । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुलीको सङ्गमस्थल यस स्थललाई प्रकृतिले नै सिँगारेकाले स्थानीयवासीका साथै छिमेकी जिल्ला र भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्छन् । अहिले यहाँ आउने पर्यटक फोहर देखेर खिन्न हुन थालेका छन् । नूनथर उद्यानभित्र फोहर सङ्कलनका लागि केही डष्टबिन राखिए पनि त्यसको सदुपयोग भएको छैन ।

 

फोहर व्यवस्थापन नभए नूनथर क्षेत्रको सुन्दरतामा असर पर्नाका साथै वाग्मती सभ्यतामा पनि असर गर्ने नेपाली काँग्रेस रौतहट क्षेत्र नं ४ का सचिव विनोद गुप्ताले बताउनुभयो । यहाँको महत्व र सौन्दर्यलाई जोगाइराख्न आफूहरूले पहल गर्ने समितिका अध्यक्ष रामकुमार भट्टराईले जोड दिनुभयो । साउनमा बोलबम आउने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक वृद्धिले सो समयमा फोहर व्यवस्थापन गर्न नसकिएकामा अब छिटृै गरिने र यसका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको उहाँको भनाइ थियो ।
कुहिने फोहर ठूलो खाडल खनेर जम्मा गर्ने र नकुहिने एक ठाउँमा सङ्कलन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको समितिका व्यवस्थापक समीर कार्कीले बताउनुभयो । फोहर टिप्ने कर्मचारी राखिएको र अहिले देखिएका समस्या दीर्घकालीनरूपमा समाधानका लागि योजनाबद्ध रूपले समिति अघि बढिरहेको पनि उहाँको भनाइ थियो ।

Comments Box