न्यादीको विजुली राष्ट्रिय प्रणालीमा, व्यवसायिक उत्पादन सुरु

आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुने



लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएकाे  छ ।

 

गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेकाे छ। 

 

 

प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएकाे हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । 

 

 

गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको आयोजनाबाट करिव २४ दिनको परिक्षण उत्पादन मानेर २७ गते देखि उत्पादित विद्युतको शुल्क तिर्नेगरी सहमति भएको आयोजनाका प्रशासकिय अधिकृत बासु गर्तौलाले बताए । उनका अनुसार  पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रशारण लाईन नहुँदा विद्युत उत्पादन  रोकिएको थियो ।  १५–१५ मेगावाट क्षमताका दुईवटा युनिट रहेको सो आयोजनामा परिक्षणको क्रममा दुवै युनिटबाट २० युनिटसम्म विद्युत उत्पादन भएको र अव क्रमिक रुपमा पुरै क्षमतामा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । 

 

 

६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिएको छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । 
बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । 

 

नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । 

 


९ बैशाख २०७९, शुक्रबार

परीक्षण उत्पादन सुरु

लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ ।

 

अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको चरणमा पुगेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी  १३२ केभी प्रसारण लाइनमा जोडिने छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

 

सन् २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो । सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थिाो ।

 

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ ।

Comments Box