मेयरमा जसले जिते पनि आफताव आलमकै परिवार



रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट शेख वकिल अख्तर, नेपाली काँग्रेसका तर्फबाट रजिक आलम, एमाले केन्द्रको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) ले उम्मेदवारी दिएका छन् ।

 

उनीहरु सबै एउटै परिवारका हुन् । उनीहरु सबैका आदर्श भनेकै नेपाली काँग्रेसका पुराना नेता शेख इद्रिस हुन् । शेख इद्रिसका बुवा शेख ल्याकतकै पालादेखि रौतहटमा यो परिवारको राजनीतिक पकड छ । शेख ल्याकतपछि शेख सदिख, शेख जहिर र शेख इद्रिस राजनीतिमा आएका थिए । शेख इद्रिसपछि त्यसको बिँडो मोहम्मद आफताब आलम र मोहम्मद महताफ आलमले थामेका थिए । काँग्रेसका नेता शेख सदिखका छोरा हुन् आफताव आलम र महताफ आलम ।

 

राजपुर, फरहदवा बमकाण्डको आरोपमा मोहम्मद आफताब आलम र मोहम्मद महताफ आलम अहिले जेलमा छन् । अहिले आफताव आलमका छोरा रजिक आलम राजनीतिमा आएका छन् । उनी स्थानीय तहको चुनावमा राजपुर नगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् ।

 

सोही परिवारका शेख वकिल माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, शेख इद्रिसका भाइ शेख जहिरका छोरा शेख सकिल अख्तर एमालेबाट मेयरको उम्मेदवार बनेका छन् । उनी अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेसबाट मेयरमा जितेका थिए । तर यसपटक काँग्रेसबाट आफताब आलमको छोरा रजिकले टिकट पाएपछि शेख सकिल एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

 

आफताव आलमका भान्जा हुन् मुस्ताक आलम । उनी एमालेका सक्रिय नेता थिए । उनका छोरा मोहम्मद जैद आलम (जैद राजा) जसपाबाट सो नगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् ।

 

यसअघि उनी विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम नेपालबाट मेयरमा चुनाव लडेका थिए । त्यतिबेला उनले एक हजार ६९० मत ल्याएका थिए । लोकतान्त्रिक फोरम पार्टी काँग्रेसमा मिसिए पनि उनी भने एमालेमा सामेल भएका थिए । तर चुनावमा एमालेले टिकट नदिने भएपछि उनी रातारात जसपामा आएर टिकट प्राप्त गरे ।

 

आफताब आलमका छोरा रजिक आलम भन्छन्, ‘म परिवारवादबाट होइन, जनताको चाहना र इच्छा बमोजिम राजनीतिमा आएको हुँ ।’ भारत विहारको नालन्दा मेडिकल कलेजबाट डाक्टर पढेका उनले केही समय दिल्लीको एक अस्पतालमा काम पनि गरे । केही अघि डाक्टरी पेसा छाडेर राजनीतिमा आएका उनी अब राजनीतिमै सक्रिय रहने बताउँछन् ।

 

उनी भन्छन्, मेरो बुबा र अंकललाई राज्यले षड्यन्त्र गरी जेलमा हालेको छ, त्यही जनताले मलाई राजनीतिमा आउनुपर्छ भनेर आग्रह गरेपछि म आएको हुँ । जनताको चाहना र इच्छा बमोजिम राजनीतिमा आएको हुँ ।’ आफूलाई आफताब आलमको छोराभन्दा पनि रजिक भनेरै चिनाउन चाहेको बताउँदै उनले जनतामा आफ्नो बुबा निकै लोकप्रिय रहेको कुरा आफूले यतिखेर थाहा पाएको जिकिर गरे ।

 

जसपाबाट मेयरमा उम्मेदवारी दिएका जैद आलम भन्छन्, ‘मेरो जित सुनिश्चित छ, बुबासँग लामो समय एमालेमा रहेर काम गरेका कारण जनताको मत मलाई आउने विश्वास गरेको छु ।’ एमालेबाटै चुनाव लड्ने सोच अनुसार तयारी गरे पनि अन्तिम समयमा आएर मेयरको टिकट अरुलाई दिएपछि बाध्य भएर आफूले जसपा रोजेको उनले बताए ।

 

आफताव आलमका छोरा रजिक आलम राजनीतिभन्दा निकै टाढा थिए । दुई महिना अगाडि मात्र काँग्रेसमा उनी सक्रिय भएको जैद आलमको दाबी छ । ‘हजुरबुबा र बुबाको विरासतबाट चुनाव जित्छु भनेर अब नसोचे हुन्छ,’ रजिकप्रति लक्षित गर्दै जैदले भने, ‘राजपुरमा परिवारवादको आतङ्क छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।’

यद्यपि शेख इद्रिसको परिवारसँग उनी पनि जोडिएका छन् । उनले आफू र शेख इद्रिसको पारिवारिक सञ्जाल प्रस्ट्याउँदै भने, ‘मामा–भान्जाको सम्बन्ध छ, पारिवारिक सम्बन्ध नरहेको भन्दा पनि हुन्छ ।’

एमालेबाट मधेस प्रदेश समितिका सदस्य किरण साहकी पत्नी प्रमिला कुमारी साहले उपमेयरमा उम्मेदवारी दिएकी हुन् । किरण साह भन्छन्, ‘पछिल्लो समय मधेसमा एमाले प्रवेशको लहर चलेको छ, त्यस आधारमा राजपुर नगरपालिकामा एमालेको प्रभाव राम्रो छ ।’

उनका अनुसार राजपुरको राजनीतिमा परिवारवाद हाबी भएको बताए । त्यसलाई तोड्नका लागि पनि त्यहाँका जनताले एमालेलाई मतदान गर्ने उनको भनाइ छ । तर उनले नै मेयरमा पत्नीलाई उम्मेदवार बनाएर कतै न कतै परिवारवादकै नमूना देखाएका छन् ।

माओवादी केन्द्र, काँग्रेस, जसपाका मेयरका उम्मेदवार एउटै परिवारको रहेको दाबी गर्दै उनले भने, ‘लामो समयदेखि यहाँ एउटै परिवारको शासन चलेको छ, त्यसलाई हटाउनका लागि एमाले विकल्प बन्न सक्छ ।’

 


सप्तरी, ९ वैशाख: सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले आज पदबाट राजीनामा दिएका छन् ।

 

२०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी भएका थिए ।

 

उनी जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन्।

 

बहालवाला जनप्रतिनिधि पुन: उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुरुप राजिनामा दिएको अध्यक्ष यादवले बताए ।

Comments Box