लमजुङ महोत्सवमा १५ करोड कारोबार



‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा २२ लाख बढी टिकट विक्री भएको छ । लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेश स्तरिय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

 

महोत्सव चैत २५ देखि बैशाख ४ गतेसम्म सहजीखेल मैदानमा सञ्चालन भएको थियो । चैत २५ गतेदेखि  सञ्चालित १० दिने महोत्सवमा १ लाख दर्शकले अवलोकन गरेको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरेले महोत्सवले कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनस्र्थापन गर्न सहयोग पुगेको बताए ।

 

महोत्सवमा १ सय ७० वटा स्टल राखीएको थियो । ८ वटा होटल तथा रेष्टुरेण्ट, ३० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल राखिएको  थियो ।

 

महोत्सवको आइतबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री मधु अधिकारी गुरुङले समापन गरेकी हुन् । लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्न महोत्सव सञ्चालन गरीएको बताए ।


७ चैत्र २०७८, सोमबार

सातौँ लमजुङ महोत्सव २५ चैतदेखि

लमजुङस्थित बेँसीशहर नगरपालिका– ७ मा सातौँ लमजुङ महोत्सव हुने भएको छ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ २५ चैतदेखि ४ वैशाखसम्म महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घले बेँसीशहरमा आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो । आयोजकका अनुसार कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्‍याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जुडीबुटी प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ । महोत्सवमा २०० वटा स्टल राखिने छ ।


२८ फाल्गुन २०७७

राइनासकोट पर्यटन महोत्सव शुरु

लमजुङ, २८ फागुन (रासस)- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ। तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा ! खेलकूद विकास गरौँ’ भन्ने नाराका साथ राइनास नगरपालिका–९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु भएको हो।

 

नगर प्रमुख सिंहबहादुर थापाले महोत्सवका माध्यमबाट देशविदेशमा प्रचारप्रसार हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। राइनासकोटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्दै आएको उहाँको भनाइ छ। वडा नं ९ का वडाध्यक्ष देवबहादुर थापाले यस्ता महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने भएकाले बेलाबेला जिल्लाका विभिन्न गाउँमा समेत आयोजना हुनलाई जरुरी रहेको बताउनुभयो।

 

महोत्सवका आयोजक राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले पहिलो पटक महोत्सव सञ्चालन गरेर गाउँमा पर्यटक भित्र्याउनका लागि गरिएको बताउनुभयो। कोरोना सङ्क्रमणपछि पर्यटकको सङ्ख्यामा कमी भएकाले पर्यटक भित्र्याउनका लागि महोत्सव सञ्चालनले मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ।

 

बिहीबारदेखि शुरु भएको महोत्सवमा लोकदोहोरी तथा लोक गायक राजु परियार, सरिता दर्नान, प्रशान्त तमाङ, रितु थापा, सुवास छितिज कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा १२ कक्ष  राखिएका छन्। महोत्सवमा विभिन्न स्थानबाट अवलोकनका लागि सयौँको सङ्ख्यामा उपस्थित भएका छन्।

 

त्यस्तै राइनासकोट पर्यटन कप सञ्चालन हुने भएको छ।  उक्त समितिको आयोजनामा यहाँ आजदेखि पुरुष तथा महिलाका लागि भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको छ। प्रतियोगितामा पुरुष भलिबलतर्फ विजयी टोलीले रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

त्यस्तै तृतीय हुने टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा शान्त्वना हुने टोलीले रु २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै महिलातर्फ प्रथम टोलीले रु २५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सो समितिका अध्यक्ष गुरुङको भनाइ छ। यस गाउँमा १७ घरमा घरवास सञ्चालनमा छन्।

 

घरवासबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, बौद्ध, गणेश हिमाललगायतको १८ हिमाल देख्न सकिन्छ। विश्वकै पहिलो योगस्तम्भ पनि राइनासकोटमा रहेको छ। ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थलसमेत रहेका छन्। नेपालका बाइसेचौबीसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ।

Comments Box