विस्का जात्रा; रथले किचेर एक जनाको मृत्यु



भक्तपुर, ५ वैशाख: बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एक जनाको मृत्यु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ ।

 

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दिनभर बाजागाजाले गुन्जायमान बन्यो भक्तपुर

४ वैशाख: भक्तपुर नगर आइतबार दिनभर बाजागाजाले गुन्जायमान बन्यो । बिस्का जात्राको आठौं दिन आइतबार भक्तपुरमा भएको सगुन जात्राका कारण दिनभर बाजागाजाले गुन्जायमान बनेको हो । स्थानीय नेपाल भाषामा यस जात्रालाई द्यो स्वगं वियजु जात्रा भनिन्छ । बिस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख ४ गते यहाँ यसरी नै जात्रा हुने गर्छ ।

 

बाजागाजा टोलीले दिनभर नगर परिक्रमा गरेका थिए । सयौं बाजागाजाको टोली नगरका शक्तिपीठमा बाजा बजाई पुगेका थिए । उनीहरूको साथमा महिलाहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गर्छन् । त्यस क्रममा ती महिलाहरूले देवी देवतालाई सगुन दिन्छन् ।

 

लामो लस्कर र हजारौंको सहभागिता रहने भएकोले सानो नगरका बजारभरि दिनभर बाजागाजा अनि जात्रालु भेटिन्छन् ।

 

जात्राको क्रममा बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःको हुन निस्केको थियो । घरघरबाट महिलाहरू परम्परागत हाकुपटासी लगाएर बाहिरिएका थिए । पुरुष भने बाजागाजा साथ आएका थिए । यही कारणले दिनभर नगर बाजागाजाले गुन्जायमान भएको थियो । बाजागाजाका मात्रै सयौं टोलीले नगर परिक्रमा गरेको थियो भने हजारौं जात्रालुहरूले सगुन चढाएका थिए ।

 

देवी देवताहरूलाई सगुन पूजा गर्न आ–आफ्ना द्योःछें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राकाक्रममा सहभागीहरूले देवी देवताहरूलाई आआफ्ना गच्छे अनुसारका परिकार चढाएका थिए । कसैले अण्डा, कसैले बिस्कुट, कसैले चोकोपन त कसैले के चढाएका थिए । पछिल्ला वर्षहरू बिस्कुट, चोकोपनलगायतका बजारमा पाइने खाद्य वस्तु चढाउने प्रवृत्ति बढी छ ।

 

यो पूजा प्राचीन कालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ । बिस्काः जात्राका क्रममा विघ्न बाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रूपमा लिने गरेको वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिए ।

झै-झगडा हुँदा २० जना बढी घाइते

भक्तपुर, २८ चैत : भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् ।  जात्राको क्रममा राति पौनो नौ बजेबाट  ढुंगामुढासमेत भएको थियो ।

 

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको,  सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का(बिस्केट) जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा आइतबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।

 

बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाले आइतबार बिहान सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । बिस्केट जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखी सकेपछि रथ तान्न सुरु हुन्छ ।

 

जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउइने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्से/हैसे/हाहा’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ–आफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ ।

 

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंबासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेल स्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।

 

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मातृकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवर्दुगा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । बिस्केट जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।

 

बिस्केटको पाँचौं दिन अर्थात नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसको लगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि/विधान समेत थपगरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंवदन्ती संस्कृतिविद्हरू बताउँछन् ।

 

किंवदन्ती अनुसार प्राचीन समयमा भक्तपुरमा भक्तग्राम जङ्गलको रुपमा रहेको थियो । लिच्छविकालीन राजाको एकमात्र अत्यन्तै सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरेपनि सफल नभएपछि राजाले आफ्नी छोरीको विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो । जसले गर्दा राजाले आफ्नी छोरीको शयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाट पुर्‍याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो ।

 


२४ चैत्र २०७७, मंगलवार
प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ ।

 

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो । बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ । बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् ।

 

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ । भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । स्वतःस्फूर्तरूपमा जम्मा भएका स्थानीयवासीले ‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने ?’ भन्दै विरोध गरेका थिए । विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निर्णय लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए । प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै प्रदर्शनमा सहभागी राधेश्याम श्रेष्ठले आक्रोश व्यक्त गर्नुभयो । प्रशासनको निर्णय नमान्ने र जात्रा पर्व सञ्चालन गरेरै छाड्ने भन्दै स्थानीयवासी रोमन सुवालले भैरवनाथको रथ तान्ने बताउनुभयो ।

 

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भएको बताउँदै जात्रा सञ्चालन गर्ने÷नगर्नेबारे निर्णय गुठी संस्थानले नलिने बताउनुभयो । गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पूरा गरेको उहाँले बताउनुभयो । प्रदर्शनमा उत्रिएका भक्तपुर र थिमिका बासिन्दाले भने प्रशासनको निर्णय नमान्ने बताएका छन् ।

Comments Box