गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे शीर्ष नेता



काठमाडौं, २९ चैत: सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् ।

 

 

 

मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।

 

भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।रात्रीभोजमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । बालुवाटारमा बैठक चलिरहेका बेला शीर्ष नेता बाहिरिएर दूतावास पुगेका हुन् ।

 

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् । ओलीसँग क्वात्राले बालकोटमै गएर बिदाइ भेट गरेको बताइएको छ ।

Comments Box