एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी



२१ साउन (रासस) :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

 

बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो । काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिनुभयो ।

 

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उहाँका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राख्नुभएको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनुभएको थियो । त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ ।

 

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।

 

उहाँले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गर्नुभयो । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गर्नुभयो । यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।

Comments Box