अर्थतन्त्रबारे एमालेको धारणा; गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने !



काठमाडौं, २७ चैत : एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।

 

 

 

उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।  एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

 

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्व अर्थमन्त्री पौडेल

 

पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन् । आर्थिक अवस्था यस्तो हुने थिएन् । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो ।’ पौडेलले भने ।

 

मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए । आफू असफल भएपछि राष्ट्र बैंकमा गर्भनरमाथि प्रहार गरेको उनको भनाइ छ । हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गर्भनरलाई सरकारका अवाञ्छित गतिविधि पुरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ ।  ‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे । राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे ।’ पौडेलले भने । अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह-सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’

 

वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।  अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ ।  व्यापार घाटाले छलाङ मारेको भन्दै उनले भने,  ‘यो सरकारको नीतिको कारण वित्त प्रणालीमा निराशा छाइरहेको छ । अर्थनीति र वित्त नीतिका निकायबीच पनि आपसमा समझदारी छैन् । पारस्परिक सम्बन्धको अभाव छ ।’

 

 

देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं, २७ चैत: पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

 

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिडिरहेका छन्,’ खतिवडाले भने ।

 

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ । अहिले आर्थिक बृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अवर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

 

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

 

 

देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

 

र्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए ।

 

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ ।  ‘राजनीतिक अवस्स्थाको कुरा पछि गर्दै गरौंला । अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भने ।

 

सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकमा गर्भनरमाथि लगाइरहेको उनको आरोप छ । सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने बताए ।

 

अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उनको आरोप छ । अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए ।

 

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने ।

 

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी बताए ।

Comments Box