तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा ?



काठमाडौं, २५ चैत : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।

 

 

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।

 

गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए ।

 

तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।


को हुन राप्रपा अध्यक्ष लिङ्देन ?

5 Dec 2021 : राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

 

वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनका बाबु पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए। उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पनि गरेका छन्। उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका थिए। २०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए। त्यस्तै उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ वडाध्यक्ष भएका थिए।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए। उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए। २०६२/६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो।  सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए।

लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। नेकपा एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले पराजित गरेका थिए। एमालेले उनी उठेको क्षेत्रमा उम्मेदवार उठाएको थिएन। लिङ्देनले उक्त निर्वाचनमा ४४,६१४ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

Comments Box