जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति – मन्त्री भुसाल



‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छन् ।

 

मन्त्री पम्फा भुसालले भनिन, जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको छ । जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताइन् ।

 

 

उनले भनिन्, ‘पूर्व सूचना प्रणालीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास लिएकी छु । साथै, पूर्व सूचना प्रणाली स्थापना गर्ने कार्य अन्य जलविद्युत् आयोजनाहरूले समेत अवलम्बन गरेको खण्डमा, सोबाट आयोजनाका साथै स्थानीय समुदायलगायत सबैलाई फाइदा पुग्नेछ ।’

 

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

२६ पुष २०७८: जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

 

 

नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, बाढीपहिराका कारण आयोजनामा क्षति पुग्ने गरेको छ, भने लघु जलविद्युत्बाट उत्पादित ऊर्जाबाट डिजेल तथा मट्टितेलको खपत न्यून गर्न तथा जीविकोपार्जनमा सहयोग पुगेकाले यी दुई पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा राख्नुभयो ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाल कर्णले नेपालको भौगोलिक र आर्थिक अवस्थाले गर्दा ठूला विद्युत् आयोजनाभन्दा साना तथा लघुजलविद्युत् आयोजना निकै उपयोगी हुने जनाउँदै यस तथ्यलाई दिगो विकास लक्ष्य र १५औँ योजनामा पनि आत्मसाथ गरी लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालनमा जोड दिइएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा केही वर्षयता प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय समस्या बढ्दै गएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा जलवायु परिवर्तका असर न्यूनीकरणमा भइरहेका प्रयासबारे जानकारी दिँदै केही समयअघि बेलायतको ग्यास्लोमा सम्पन्न जलवायु परिवर्तन सम्मेलनले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सहभागी मुलुकले प्रतिबद्धता जनाएकाले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले लघुजलविद्युत् आयोजनालाई स्वच्छ विकास संयन्त्रमा दर्ता गरी कार्बन व्यापारबाट लाभ लिनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

 

फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले जलवायु परिवर्तनका विषय, यसका कारक र न्यूनीकरणका उपायबारे विभिन्न तहमा व्यापक छलफल हुन तथा समाधानको उपाय सुझाउन सबैलाई आग्रह गर्नुभयो । फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले ऊर्जामा गरिब जनताको पहुँच विस्तार गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड दिन र नेपालमा लघु जलविद्युत्को दिगो सञ्चालनका विभिन्न विकल्पहरुका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा अधिवक्ता दिलराज खनालले लघु तथा साना जलविद्युत् आयोजनाका बारेमा प्रचलित विभिन्न ऐन कानुनमा रहेका प्रावधान र अस्पष्टताका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । सो अवसरमा विद्युतीय सुरक्षासम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।

 

कालीकोटको पलाँता गाउँपालिकाको  ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच

कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो ।

गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ । ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । “गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत् छैन”, उहाँले भन्नुभयो, “ती ठाउँमा अहिले विद्युत्का पोल गाड्ने काम भइरहेको छ ।”

बत्ती नबलेका ती ठाउँमा एक÷दुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताउनुभयो । “पलाँता गाउँपालिका विद्युत्ले आत्मनिर्भर भइसकेको छ”, उहाँले भन्नुभयो,“विद्युत् नपुगेका वडामा पनि विद्युत् यसै आर्थिक वर्षका पु¥याउने लक्ष्य राखिएको छ ।” गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताउँनुभयो । “मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्”, उहाँले भन्नुभयो ।

ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयका लागि विद्युत् महशुल छुट गरिएको हो ।

Comments Box