मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु



 मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ ।अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।

 

 

परिक्रमामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैँ भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकीमाता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकीमाताको विवाहमा मटकोर गरिएको ठाउँले ख्यातिप्राप्त गरेको हो ।

 

मिथिलाञ्चलमा हलोगोरु पूजा

४ फाल्गुन २०७७ (रासस) : श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरुसहित हलो राखेर पूजाआजा गरेका छन् ।

 

 

साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् । किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन् । उनीहरुले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् । श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन् । हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् ।

 

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन् । हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद् हुन्छ । हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ ।

Comments Box