मिथिलामा विवाहपञ्चमीको उल्लास, मटिहानीमा आज मटकोर



 

१९ मंसिर (रासस) :  विवाहपञ्चमी पर्वको अवसरमा मिथिला क्षेत्र उल्लासमय बनेको छ । मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मर्यादा पुरुष श्रीराम र आदर्श नारी सीताको विवाह भएको सम्झनामा मनाइने यो पर्वमा आज मिथिला परम्पराअनुसार जनकपुरमा धनुष भङ्ग सम्पन्न भएको छ ।

 

 

यता महोत्तरीको लक्ष्मीनारायण मठमा भने ‘मटकोर’ सम्पन्न गरिँदैछ । सप्ताहव्यापी मनाइने यो पर्वको मुख्य विवाहको दिन भने आउने बुधबार परेको छ ।

 

 

साताव्यापी मनाइने यो पर्वको पहिलो दिन जनकपुर नगर दर्शन, दास्रो दिन फूलबारी लीला, तस्रो दिन धनुष भङ्ग र स्वयम्वर, चौथो दिन तिलकोत्सव, पाँचाँै दिन ंमटकोर, छैठौँ दिन विवाह र सातौँ दिन रामकलेवा विधि सम्पन्न गरिने जनकपुरधामको मैथिल परम्परा छ । खासमा यी विधि जनकपुरधाममै सम्पन्न गरिए पनि प्राचीन मिथिलाको हाल प्रदेश–२ मा पर्ने धनुषाबाहेकका अन्य सात जिल्लाका मठमन्दिरमा पनि आआफ्नो सुविधाअनुसार रामजानकी विवाह महोत्सव मनाइन्छ । यसैअनुसार महोत्तरीको मटिहानीमा आज मटकोर मनाइएको हो ।

 

 

म्टिहानीको श्री लक्ष्मीनारायण मठ मुलुकभरिकै मठको नायक मानिन्छ । अन्य ठाउँका मठ प्रमुख ‘महन्थ’ भनिँदा मटिहानी मठकालाई भने ‘मानमहन्थ’ भनिन्छन् । मटिहानीमा आज जिल्लाका आसपासका, छिमेक भारतको मधुवनी र सीतामढी जिल्लाका मठबाट पनि साधुसन्त ‘मटकोर’ विधिमा सरिक हुन मटिहानी पुगेका छन् । त्रेता युगमा रामसीताको विवाहका लागि वेदी बनाउन माटो खनिएको विश्वास गरिने मटिहानी–७ स्थित लक्ष्मीसागरबाट आज वैदिक मङ्गलधुनबीच माटो खनेर मठमा ल्याई विवाह मण्डप ९वेदी० बनाइएको छ ।

 

 

वैवाहिक कार्यक्रममा दुलहा–दुलहीले ‘सातफेरा’ लगाइने विधिमा होम गरिने लावा पनि त्यही माटोबाट बनाइएको चुल्होमा आआफ्ना घरमा दुलहाका फुपू÷फुपाजुले भुट्ने चलन पनि छ । वेदी र चुल्होचौकाका लागि माटो खनिने, वेदी बनाइने र सो ठाउँमा मैथिल कर्मकाण्डअनुसार राति गरिने पूजा विधिलाई ‘मटकोर’ भन्ने गरिएको छ । मटिहानीमा आज उल्लासमय वातावरणमा यी विधि सम्पन्न गरिँदैछन् ।

 

 

जनकपुरमा र अन्य ठाउँमा मटकोर सम्पन्न गरिने दिन कहिलेकाहीँ फरक पनि पर्ने गरेको छ । जनकपुरधाममा साप्ताहिक तालिकामा उत्सव मनाइने र अन्य ठाउँमा मटकोर र विवाह विधिमात्र सम्पन्न गरिने परम्पराले विवाहको दिन अघिका विधि फरकफरक दिन पर्ने गरेका हुन् ।

 

 

पर्वमा अयोध्याबाट राजा दशरथ जन्ती लिएर आएका सम्झनामा अहिले पनि साधुसन्त जन्तीका रूपमा आउँछन् । यसरी आउने जन्तीको नेपाल प्रवेश नाका मटिहानी नै भएको हुँदा पहिलो स्वागतको अवसर आफूले पाउँदै आएका मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । “हाम्रो नगरको मुख्य परिचय, पहिचान नै रामायणकालीन जनश्रुतिसँग जोडिएको छ” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यसैले हामी आफ्ना विकासका सम्भावनालाई धार्मिक पर्यटनसँग जोडेर अघि बढ्दैछौँ ।” विवाहपञ्चमी महोत्सव, साउने झुला महोत्सव, मिथिला माध्यमिकी परिक्रमा, रामनवमी र रावणवध ९विजया दशमीका दिन० मनाइने धार्मिक उत्सव आफ्ना ठाउँका विशेष पर्व रहँदै आएका मण्डल बताउनुहुन्छ ।

 

 

विवाह पञ्चमी मिथिलाको साँस्कृतिक पर्वका रूपमा स्थापित छ । यो परम्पराले आफ्ना संस्कृति परम्पराको निरन्तरता र जगेर्नाका लागि पछिल्लो पुस्तालाई सन्देश छाड्ने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।