देउवाले धान्न नसकेको कदः राष्टृय र व्यक्तिगत रुपमा कम्जोर अन्तराष्टृय उपस्थिती



संयुक्त राष्ट्रसंघले स्कटल्यान्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनेकोमा खुसी व्यक्त गरे। सम्मेलनका क्रममा भएको भेटमा बाइडेनले आफ्नो टोपी देखेर चिनेको भन्ने देउवाको भनाइ आलोचित पनि भयो।

 

आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के कुरा गरे भनेर जिज्ञासा राखिरहँदा देउवा भने अमेरिकी राष्ट्रपति बाइडेनले टोपी लगाएका कारण चिनेकोमा मख्ख थिए , आज को नागरिक दैनेक ले थप लेखेको छ: भलै त्यो भेट कुनै साइडलाइन वा विशेष नभएर सम्मेलनका क्रममा भएको जम्काभेट मात्र थियो।

 

 

आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के कुरा गरे भनेर जिज्ञासा राखिरहँदा देउवा भने अमेरिकी राष्ट्रपति बाइडेनले टोपी लगाएका कारण चिनेकोमा मख्ख थिए।भलै त्यो भेट कुनै साइडलाइन वा विशेष नभएर सम्मेलनका क्रममा भएको जम्काभेट मात्र थियो।

 

 

 

नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्ररूप लिइरहेका बेला सन् २००२ मे ७ मा प्रधानमन्त्रीको हैसियतमा देउवाले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई ह्वाइटहाउसमा गएर भेट गरेका थिए।

 

 

त्यहाँ दुई नेताबीच नेपालमा चलिरहेको सशस्त्र द्वन्द्वलाई कसरी परास्त गर्ने, नेपालमा प्रजातन्त्र कसरी सुदृढ बनाउने, क्षेत्रीय सुरक्षा,आर्थिक तथा शैक्षिक सहयोगसम्मका कुराकानी भएका थिए। देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अमेरिकी राष्ट्रपति बुससँग नेपालमा माओवादी समस्या कसरी समाधान गर्ने भनेर वार्ता गर्न अमेरिका गएका थिए।

 

 

उक्त भेटलगत्तै ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवाले राष्ट्रपति बुसले नेपालमा माओवादी समस्या समाधान गर्न सहयोग गर्नेमा विश्वस्त गराएको बताएका थिए।

 

 

आतंकवादविरुद्धको अभियानमा ह्वाइटहाउस र राष्ट्रपति बुसको साथ रहेको भन्दै नेपालको कार्यकारी प्रमुखका हिसाबले देउवाले गर्वका साथ पत्रकारसँग बोलेका थिए।

 

 

तिनै देउवा करिब १९ वर्षपछि प्रधानमन्त्रीका रूपमा विश्व जलवायु सम्मेलनमा भाग लिने क्रममा अमेरिकी राष्ट्रपति बाइडेनसँग जम्काभेट हुँदा उनले आफूलाई पोसाकका आधारमा चिने भनेर खुसी हुनुपर्ने अवस्था आएको छ। यसले नेपाल आन्तरिक मात्र नभएर बाह्य सम्बन्धका रूपमा पनि कति कमजोर हुँदै गइरहेको छ भन्ने देखाउँछ।

 

 

 

अहिले देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। संयोग कस्तो भने त्यति बेला माओवादीलाई सिध्याउन अमेरिकाको सहयोग माग्ने देउवा यसपटक तिनै माओवादीको काँधमा चढेर प्रधानमन्त्रीका रूपमा विश्व जलवायु सम्मेलनमा भाग लिन बेलायत पुगेका हुन्।

 

 

देउवा अमेरिकी राष्ट्रपति बुसलाई भेट्न अमेरिका जानुपूर्व सोही वर्षको जनवरीमा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए। त्यसयता त्यो तहका कुनै पनि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका छैनन्।

 

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सन् १९६० को दशकमा करिब नौ वर्ष जेल परेका देउवाले १९७० को दशकमा नेपाली कांग्रेसको विद्यार्थी संगठनको नेतृत्व गर्दै एउटा सम्भावना बोकेका नेताका रूपमा आफ्नो परिचय बनाएका थिए।

 

 

समाजवादी तथा प्रजातान्त्रिक आन्दोलनप्रतिको प्रतिबद्धता र त्यागका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत अग्लो कद बनाएका बिपी कोइरालासँग निकट भएर काम गरेका र शैक्षिक हिसाबले अन्तर्राष्ट्रिय डिग्रीसमेत प्राप्त गरेका देउवाले पटकपटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन्। तर मुलुकको कार्यकारी प्रमुखका रूपमा उनले आफ्नो व्यक्तिगत र मुलुकको कद उँचो बनाउने काम भने गर्न सकेनन्। नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री हुनेमध्ये देउवा पनि एक हुन्।

 

मुलुकको रूपरेखा परिवर्तन गर्न र आफ्नोसहित मुलुकको कद उँचो बनाउन एकपटक कार्यकारी पदमा पुग्नु पनि पर्याप्त मानिन्छ। देउवा त्यस्ता पात्र हुन्, जसलाई भाग्यले मात्र होइन, जनताले पनि पटकपटक साथ दिए।

 

तर मुलुकको भाग्य र भविष्य मात्र होइन, व्यक्तिगत कद बढाउन उनी सधैं चुकिरहे। नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेका उनले जननिर्वाचित संसद् राजालाई बुझाएर होस् वा सांसद किनबेचलाई प्रोत्साहन गरेर प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धतामा आफैंले आँच पुर्‍याए। मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पनि उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन्।

 

तर मुलुकको कद बढाउने वा आफ्नो बिर्सनलायक विगत सुधारेर सम्झनलायक इतिहास बनाउने उनको प्रयास देखिँदैन। देउवाको आमरूपमा मात्र होइन, आफ्नै पार्टीभित्र पनि अवसर पाएर त्यसलाई मुलुकको हितमा सदुपयोग गर्न नसक्ने पात्रका रूपमा आलोचना हुने गर्छ।

 

नेपाली कांग्रेसभित्र बिपी हुँदै जिप (गिरिजाप्रसाद कोइराला) लगायतका कतिपय नेताले आफ्नो छविलाई राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गर्ने काम गरे। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि उनीहरूको भूमिका महत्वपूर्ण नै देखिन्छ।

 

तथापि मुलुकको विकासका सन्दर्भमा भने जिपीको भूमिका पनि देउवाको जस्तै कमजोर देखिन्छ। पटकपटक प्रधानमन्त्री भएर पनि जिपी मुलुकको विकासमा उल्लेख्य योगदान दिन चुके।तर व्यक्तित्वका हिसाबले जिपी अन्तिम अवस्थासम्म पनि आफ्नो कद उच्च बनाइराख्न सफल भए। देउवाको हकमा भने पाचाौंपटक प्रधानमन्त्री भइसक्दा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उनको कद बढ्नुको साटो क्षयीकरण हुँदै गएको छ।