वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु



२७ भदौ (रासस) :   खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ ।

 

 

वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७÷७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।

 

कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले जनाएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको थियो । त्यसको कूल बजेट रु ६० करोड २९ लाख रहेकामा रु ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

 

यसअघि वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा १८ वटा र आर्थिक वर्ष २०७६÷७७ मा १५ वटा गरी कुल ३३ वटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएपछि सबै साधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको बताइएको छ । सो बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल रु एक करोड १५ लाखको लागतमा इनार निर्माण गरेको हो । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण सुरु भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकरी दिनुभयो ।

 

 

दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ ।

Comments Box