किसानलाई कृषि औजार



 

२ भदौ (रासस) :  कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

 

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । सो कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, ७८ सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजार वितरण गरिएको कृषि कार्यालयले जनाएको छ ।

 

किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको सो कार्यालयका वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।

पठनपाठन गराउन शिक्षकको घरदैलो

 

यहाँको तिला गाउँपालिका–८ मा रहेको देउराली मावि जुम्लाकोटले कोरोना कहरका बीचमा वैकल्पिक विधिबाट पठनपाठन गर्न घरदैलो गरेको छ । गाउँमा शिक्षकहरु खटिएर अभिभावकलाई रेडियो, अनलाइन, टेलिभिजनबाट हुने शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गराउन आग्रह गरिएको छ । “अहिले विद्यार्थीको भौतिक उपस्थिति गराएर पठनपाठन गर्ने अवस्था छैन”, प्रधानाध्यापक रामभजन यादवले भन्नुभयो, “यो अवस्थामा वैकल्पिक शिक्षण विधिको प्रयोग गर्नुको विकल्प छैन । त्यसैले रेडियो, टेलिभिजन र अनलाइनको पहुँचमा रहेका विद्यार्थीले समय मिलाएर पठनपाठन गराउन अभिभावकलाई सुझाव दिएका छौँ ।

 

दूरशिक्षा, श्रव्यदृश्य सामग्री प्रसारण हुने समय तालिका अभिभावक र विद्यार्थीलाई दिइएको छ । रेडियोको पहुँचसँग जोडिएका विद्यार्थीले रेडियो सुन्नुपर्ने तथा टिभीको पहुँचमा रहेका विद्यार्थीले टिभी हेर्नुपर्ने र अनलाइनको पहुँच हुनेले अनलाइनबाट शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्ने प्रधानाध्यपक यादवले बताउनुभयो ।

 

घरदैलोमा पुग्दा अभिभावकले शिक्षकले दिएका सुझाव कार्यान्वयन गर्ने वचन दिएका छन् । विद्यालयको कार्यक्षेत्रभित्र पर्ने पुरु गाउँ र जुम्लाकोटको तल, माथिबाडामा शिक्षकले घरदैलो गरेका छन । शिक्षक घरदैलोमा पुगेर विद्यार्थीको भविष्यमाथि चिन्ता व्यक्त गर्न थालेपछि अभिभावक पनि विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन तयार भएका छन् ।

 

कोभिड–१९ का कारण स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल स्थिति सिर्जना भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा शिक्षण क्रियाकलाप सञ्चालन गर्न सक्ने अवस्था छैन । पटकपटक वैकल्पिक विधिबाट गरिएको शिक्षण सिकाइ क्रियाकलापको शिक्षकले अनुगमनसमेत गर्ने विद्यालय जनाएको छ ।

Comments Box