नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री



२१ साउन (रासस) :  सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

 

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट दिनुपर्ने र स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहजरूपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।

 

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाहरुका लागि महत्वपूर्ण सहयोगप्राप्त भएको स्मरण गर्दै माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारी दिनुभयो ।

Comments Box