भीमाद नपाले मानेन संघिय सरकारको स्कुल बन्द गर्ने निर्णय 



दमौली, १६ चैत (रासस): वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि तनहुँको भीमाद नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्नेभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो।

त्यसको केही समयमै भीमाद नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ। शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ।

काठमाडौँ, लुम्बिनी लगायतका ठाउँमा वायु प्रदूषणको बढी प्रभाव रहेको र भीमाद क्षेत्रमा त्यति धेरै असहज अवस्था नरहेकाले विद्यालय नियमित गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो। “हाम्रोतिर त्यति धेरै समस्या छैन, झन् विद्यार्थीलाई विद्यालय नआउ भन्दा बाहिर हिँड्ने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “बरु १० बजेदेखि ४ बजेसम्म विद्यालयमै बस्दा उनीहरु सुरक्षित छन् ।”

Comments Box