एक्काइस वर्षपछि सुन्दरीजलमा खस्यो मेलम्चीको पानी



काठमाडौँ, काठमाडौँ उपत्यकावासीको घरघरमा पानी आउने भनी २१ भन्दा धेरै बर्ष देखि देखाइएको सपना सिन्धुपाल्चोकको हेलम्बुबाट सुन्दरीजलमा यही फागुन २२ गते मेलम्चीको पानी खसेसँग पूरा हुने भएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ।

मेलम्ची खानेपानीको यो कामका क्रममा देशमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सुर्यबहादुर थापा, ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओलीले २ पटकदेखी केहि ४ पटकसम्म शासन सम्हाल्नु भएको थियो।

राससका अनुसार, मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा आइपुगेको हो। अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ।

तीन वटा खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो। उहाँका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ। करिब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ। सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उहाँले जानकारी दिनुभयो। सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ। तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ। झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो।  एकै पटक नभरिएपनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उहाँको भनाइ छ।

 

सुरुङ पखाल्न पूरै भल्भ खोलेर राखिने आयोजनाले जनाएको छ। सुरुङ सफा भएपछि मात्रै पानी प्रणालीमा पठाइने प्रवक्ता पन्तले बताउनुभयो। सुरुङ सफा गर्दा भित्र धमिलो पानी आएपछि त्यसलाई बागमतीमा पठाइने उहाँले बताउनुभयो। सफा पानी आएपछि सुरुङ पखालिएछ भन्ने हुन्छ। सुरुङ पखाल्ने ठाउँ अम्बाथान, ग्यालथुम, सिन्धु र सुन्दरीजलमा रहेको छ। उहाँले भन्नुभयो, “सुन्दरीजलमा पानी पखालिएपछि त्यही पानी बाग्मतीमा आउने हो।”

 सुरुङको गेट थुनेर परीक्षण भइरहेको छ। अहिले सानातिना समस्या भएमा तुरुन्त देखिने आयोजनाले जनाएको छ। सुरुङमा समस्या भए/नभएको भन्ने विस्तृत रुपमा जानकारी सुरुङ भरिएपछि नै थाहा हुने उहाँको भनाइ छ।  सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताउनुभयो। सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उहाँको भनाइ छ। सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “ठूलो चुहावट नभएकामा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ।”

 

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयो। सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन्। यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ। उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता पन्तले जानकारी दिनुभयो। अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ।

यसअघि गत असारमा परीक्षणका लागि सुरुङमा पानी पठाइएको थियो। पानी भर्न थालिएको एक सातामा पानी बाहिर निस्केको हो। दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो। समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ।

 सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनीद्वारा निर्माण गर्ने कम्पनी दुवैको छ। इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो। आयोजनामा यसभन्दा पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो। नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले हेडबक्स निर्माण गरिरहेको छ। हेडबक्सको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ। अहिले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको छ। मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन। बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो।

 विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो। आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो। पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो। केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो। पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो।

 उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि फागुन २२ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताउनुभयो।

  “मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उहाँले भन्नुभयो।

  विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताउनुभयो। आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उहाँले सुनाउनुभयो। दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो।

 हिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उहाँले सुनाउनुभयो। “पार्टीकै मानिस प्रत्यक्ष ११६ सिट जितेको आफ्नो नेतालाई हटाएर २३ सिट जितेको नेपाली कांग्रेसकामा निवेदन हाल्न गएका छन्”, समसामयिक विषयमा राजनीतिक टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो।

  खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताउनुभयो। “२२ वर्षका बीचमा व्यवस्था एवं सरकार परिवर्तन भएपनि मेलम्चीको सपना पूरा भएको छ, कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएको मेलम्ची आयोजना केपी शर्मा ओलीको पालामा सम्पन्न भएको छ, सुरुङमा पानी हालेर सफल परीक्षण भएको छ, चैत दोस्रो साता उपत्यकावासीका लागि मेलम्चीको पानी धाराबाट वितरण गरिन्छ”, उहाँले भन्नुभयो। मेलम्ची आयोजना सम्पन्न गर्न लाग्ने सबै पक्षलाई मन्त्री थापाले धन्यवादसमेत दिनुभयो।

 मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताउनुभयो। फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा आइपुगेको उहाँले जानकारी दिनुभयो।

  मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साँढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ। प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ। अर्को एक पानीपोखरी हाल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ। दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ।

Comments Box