आजको अन्नपूर्ण पोष्टले अव्यवस्थाले थलिँदै निगम, घट्दै विमान भन्ने शिर्षक मा लेखेको छ: “जम्माजम्मी विवाद थियो– दुई जना एयर होस्टेजको करार म्याद थप्ने कि नथप्ने ? तर, यही विवादले चर्कोरूप लियो। नेपाल वायुसेवा निगममा ‘हंगामा’ मच्चियो। बिहीबार निगमका अन्तर्राष्ट्रिय उडान ठप्प भए। विदेश पुगेका निगमका दुई जहाज उतै रोकिए। विदेश जान टिकट लिएर एयरपोर्ट पुगेका यात्रुहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय विमानस्थलमा नारावाजी भयो। १ हजार २ सय यात्रु अलपत्रमा पारिए। राष्ट्रिय ध्वजावाहक वायुसेवाभित्रको ‘अव्यवस्था र बेहाल’ फेरि एकपटक छताछुल्ल भयो। राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा निगमको साख र विश्वास गिराउने काम भयो। तर, पनि न कसैले जिम्मेवारी लिनुपर्यो, न त कसैले कारबाही नै भोग्नुपर्यो।”
कान्तिपुर दैनिकले खर्चको आंकलन गर्दै लेखेको छ: “हड्ताल गर्न नपाइने कानुनविपरीत क्याबिन क्रुले आन्दोलन गर्दा निगमका दुइटा विमान मलेसिया र दुबईमै रोकिएका छन् । दुबईबाट काठमाडौं फर्किनुपर्ने १ सय ४० र मलेसियाबाट फर्किनुपर्ने १ सय ७५ यात्रुलाई समयमै ल्याउन नसक्दा निगमको खर्चमा त्यहाँका होटलमा राखिएको प्रवक्ता अर्चना खड्काले बताइन् । दुई दिनको हड्तालका कारण निगमका जहाज उतै राख्दा लाग्ने विमानको पार्किङ शुल्क, चालकदलका सदस्य र यात्रुको होटल खर्च, काठमाडौंमा अलपत्र परेका यात्रुको खर्चसम्मेत जोड्दा निगमले कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त खर्च बेहार्नुपर्ने भएको छ ।”
अत्यावश्यक सञ्चालन ऐनअनुसार हवाई क्षेत्रमा हडताल गर्न पाइँदैन। तर, निगमका कर्मचारीले राजनीतिक आडमा बिहीबार हड्ताल गरे। यात्रुलाई अलपत्र पारे। तर न कानुन कार्यन्वयन भयो, न कसैलाई कारवाही भयो ।
अन्नपूर्ण पोष्टले थप लेखेको छ: पछिल्लो समय निगमका उडानमा केही न केही समस्या देखाएर ‘गाईजात्रा’ प्रदर्शन हुने गरेका छन्। गत कात्तिकमा नागरिक उड्डयन प्राधिकरणको ‘सेडयुअल नहेरी’ निगमले यात्रुलाई टिकट भिडायो। र, यात्रु अलपत्र पार्यो। त्यसबेला दिल्ली–काठमाडौंको नियमित १४ उडानमा ४ उडान कटौती गरिएको थियो। तर, निगमले सबै उडानका लागि टिकट काटेको थियो। प्राधिकरणको उडान स्वीकृतिबिना नै निगमले आरए २१७ र २१८ उडानको तयारी गरेको थियो। निगमले जहाज उडानमा रोक लगाएपछि एयरपोर्ट पुगेका यात्रु अलपत्र परेका थिए। प्राधिकरणसँग समन्वय नहुँदा त्यसबेला २ सय ५४ यात्रु पीडित भए।
अर्कोतर्फ निगमका जहाज कहिल्यै पनि समयमा उड्दैनन्। यात्रु छोडेर जहाज उड्ने, प्राविधिक समस्या देखाएर समयमा जहाज नउडाउने र यात्रुलाई सास्ती दिने प्रचलन नै बसिसक्यो। मंसिर २ गते निगमको एकमात्र आन्तरिक उडान भर्ने ट्वीनअटरमा प्राविधिक समस्या आएको भन्दै केही दिन उडान नै ठप्प पारियो। यसबाट दैनिक ५० भन्दा बढी यात्रु गन्तव्य पुग्न पाएनन्। सोही दिन बोर्डिङ पास लिएका यात्रुलाई त्रिभुवन विमानस्थलमा छोडेर निगमको जहाज दोहा उडाइयो। सिट भरिएको भन्दै यात्रुलाई काठमाडौंमा अलपत्र पारियो। मंसिरमा नै बैंककका लागि उडेको न्यारोबडिमा समस्या आएको भन्दै बंगलादेश अवतरण गराइएको थियो। यस्तै पाटपुर्जा अभावका कारण धेरैपटक निगमका जहाज ग्राउन्डेड भएका छन्। इन्जिनमा समस्या, चालक अभाव जस्ता कारणले पनि निगमका जहाज बेला–बेला उडाइँदैन।
कुनै समयमा निगमले उडानमार्फत मुलुकका विकट भौगोलिक क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय जगतलाई पनि नेपालसँग जोड्ने र आर्थिक समृद्धिको संवाहको भूमिका खेलेको थियो। २०४३ मा भित्राएको बोइङ ७५६ विमान त्यतिबेला दक्षिण एसियामा नै प्रविधियुक्त विमानमध्ये एक थियो। २०४६ यता खुल्ला नीतिले नेपाली आकाशमा आन्तरिक तथा बाह्य निजी प्रदायक कम्पनीहरूको आगमनपछि भने निगम प्रतिस्पर्धी बजारमा उत्रन नसकेको देखिन्छ।
एकताका १२ वटासम्म ट्वीनअटर विमान, २ बोइङ ७२७ र दुई एभ्रो भएको निगमको अहिले जहाज संख्या मात्र होइन सेवा क्षेत्र पनि साघुरिँदै गएको छ। निगमका जहाजले लन्डनदेखि फ्र्यांकफर्ट, टोकियोको नारिता, दक्षिण अफ्रिका, अष्ट्रेलिया र दक्षिण एसियाका सबै मुलुकहरूमा उडान भर्ने गर्थे। कोरोना अघिसम्म आन्तरिक र बाह्य गरी ३६ गन्तव्यमा उडान भर्दै आएको निगमले अहिले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ सीमित उडान गर्दै आएको छ।
उड्डयन क्षेत्रमा स्वर्णयुग पनि देखाएको निगमले त्यो बेला अमेरिकका उडानको लक्ष्य पनि साधेको थियो। २०४६ साल पछिको प्रजातन्त्र निगमलाई भने सुट गरेन। प्रजातन्त्रसँगै निगमभित्र मौलाएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, कुशासन जस्ता कारण निगमको अधोगति सुरु भएको देखिन्छ। महालेखापरीक्षक कार्यलयको ५९औं प्रतिवेदनअनुसार निगमको २०७६÷७७ मा नोक्सानी २ अर्ब ८२ करोड रहेको छ। महालेखापरीक्षकको प्रतिवेदनले पनि निगमको नेतृत्व चयन प्राविधिक एवं व्यावसायिक कर्मचारीको व्यवस्था लगायतका विषयमा सुधार गरी व्यावसायिक वातावरण बनाउन भनिएको छ।
९ पुष २०७८, शुक्रबार
वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा
९ पौष (रासस) : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ ।
निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले निगमको व्यापार बढेको हो । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी दिनुभयो ।
“महामारीकाबेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेर हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो”, निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७।८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११।३ र सन् २०१७ मा ९।७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७।९० प्रतिशत रहेकामा सन् २०१६ मा १०।९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।
निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैङ्लोर तथा जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिनुभयो । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको बताउनुभयो । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।