आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ?

लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको



काठमाडौं, ३० असार: प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

 

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौत्तमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको भापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

 

 

‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने । सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।


लेखा समिति बैठक बहिस्कार

काठमाडौं, २८ असार : सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान  ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

 

दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरु बैठक छोडेर हिँडे ।

 

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बैठकमा बिशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम  कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतम हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

 

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।

Comments Box