लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।
‘लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको छ’, उनले बताए ।
लोसपा किन छाड्न लाग्नु भएको हो भन्ने जिज्ञासामा उनले पार्टीमा राजीनामा दिएपछि मात्र विस्तृतमा जानकारी गराउने प्रतिकृया दिए । ‘पार्टी छाड्नुपर्ने कारण थुप्रै छन् तर अहिले लोसपाबाट राजीनामा नदिएको कारणले ती कुराहरु उजागर नगर्ने मिल्दैन । एक दुई दिनमा सबै कुरा बाहिर ल्याउँछु’, उनले भने ।
कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय भएका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरिया पनि सो पार्टी छाडेका थिए । गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरेका थिए ।
२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका थिए । ओली नेतृत्वको तत्कालिन सरकारमा जसपाको महन्थ ठाकुर पक्षका १० जना मन्त्री बनेका थिए, त्यसमध्ये एक अरगरिया पनि थिए ।
पछिल्लो समय लोसपाको संगठन निर्माण र सो पार्टीको गतिविधिप्रति उनी असन्तुष्ट रहेका थिए । ‘जसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति बनेको छैन । पार्टीमा कार्यकारिणी समिति छ । त्यसको पनि बैठक बस्दैन । पार्टीभित्रका पाँचजना (महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ सुक्ला) ले जे गर्छन् त्यही हुन्छ । अन्य नेताहरुसँग कुनै सरसल्लाह तथा सोधपुछ छैन’ उनले गुनासो गरे ।
स्रोतका अनुसार उनले लोसपामा परिवार वाद हावी भएको गुनासो गर्दै आइरहेका छन् । आगामी चुनावका लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन् । उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियले पार्टीभित्र गुनासो गर्दै आएका थिए ।
९ जेष्ठ २०७९, सोमबार
मधेशमा माओवादीलाई ठूलो धक्का, एमाले पाँचौं बाट तेस्रो शक्ति
सिरहाका एमाले नेताहरू चुनावी नतिजाकै कारण उत्साहित छन् । अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएपछि अहिले विजय सभामा जिल्ला नेताहरू व्यस्त छन् । ‘जनताको भावनालाई सधैं सम्मान गर्यौं । अप्ठ्यारो परिस्थितिमा साथ दियौं । यसपटक जनताले हामीलाई साथ दिए’, एमाले जिल्ला सचिव उग्रनारायण यादव भन्छन् । भर्खरै पार्टी विभाजन भएको र सत्तारुढ दलहरुले केन्द्रबाटै गठबन्धनको निर्णय गरेकाले सिरहाका एमालेलाई ०७४ कै उपलब्धि जोगाउन मुस्किल थियो । तर ०७४ मा चार सिटमा खुम्चिएको एमालेले यसपटक दोब्बर भन्दा बढी ९ स्थानीय तहमा जितेको छ । ‘सपना बाँड्नेहरूले बोलेको कुरा पूरा गरेनन् । जनताले पनि भ्रम बाँड्नेहरु चिनिहालेँ’, एमालेका सिरहा इन्चार्ज गंगा यादव भन्छन् । एमालेको जित असली जनप्रतिनिधि चयनको नतिजा भएको उनी बताउँछन् ।
उग्रनारायण यादवले भगवानपुर गाउँपालिका अध्यक्ष जितेका छन् । भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा उनले जनता समाजवादी पार्टी (जसपा) का जिल्ला उपाध्यक्ष बेचनप्रसाद यादवलाई पराजित गरे ।बेचनले तीन हजार २३९ मत पाउँदा उनले चार हजार ३०२ मत ल्याएर जिते । भगवानपुर नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको गृह पालिका समेत हो । तर ५ मध्ये ४ वडासहित एमालेका उग्रनारायण अध्यक्ष निर्वाचित भए ।
०६३ सालमा उपेन्द्र यादव नेतृत्वको मधेश आन्दोलन सिरहाको लहानबाट सुरु भएपछि एमालेका स्थानीय नेताहरुले ठूलै संकट खेपेका थिए । सशस्त्र विद्रोहबाट उदाएको माओवादीको प्रभाव बढिरहँदा अझ चर्को नारासहित उपेन्द्र यादवले मधेश आन्दोलन चर्काए । मधेश आन्दोलनको प्रभावमा एमाले कमजोर बन्यो । सिरहाबाटै चर्किएको मधेश आन्दोलनको बलमा उपेन्द्र यादव पटकपटक सत्तामा गइसके । माओवादी केन्द्रको समेत बलियो पकड रहेको बुझाइले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७० को दोस्रो संविधानसभाको चुनाव लड्न सिरहा गए, जिते पनि । ०७४ को स्थानीय चुनावसम्म पनि माओवादी केन्द्र सिरहामा बलियो थियो । १७ मध्ये उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी र माओवादी केन्द्रले ६/६ स्थानीय तह जितेको थियो ।
तर यसपटक भगवानपुरसहित नरहरा गाउँपालिका, विष्णुपर गाउँपालिका, सुखीपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा जसपाकै उम्मेदवार हराउँदै एमालेले जितेको छ । सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र धनगढी नगरपालिकामा पनि एमाले उम्मेदवार विजयी भए ।
सिरहामा एमालेबाट नवीनकुमार यादवले ११,१४३ मत ल्याएर मेयर जित्दा कांग्रेसका उपेन्द्रकुमार यादवले ८,७२० मत ल्याए । कर्जन्हामा जसपाका केशवप्रसाद साहले ३,२२३ मत ल्याउँदा एमालेका भोलाप्रसाद पोखरेलले ३,८३९ मत ल्याएर मेयर जिते । सुखीपुर नगरपालिकामा जसपाका जीवछ यादव (३,११२ मत) लाई हराउँदै एमालेका रामऔतार यादव (४,४३४ मत) मेयर बने । कल्याणपुरमा कांग्रेसका धर्मनाथ यादव (५,३५३ मत) लाई हराउँदै एमालेका राम पुकार साह तेली (५,८८३ मत) विजयी भए । धनगढी नगरपालिकामा शिवशंकर महतोले (७,०५६ मत) कांग्रेसका रामचन्द्र यादवलाई (६,९०१ मत) लाई हराए । यादव कांग्रेसका जिल्ला सभापति हुन् भने महतो एमालेका जिल्ला उपसचिव हन् । विष्णुपुर गाउँपालिकामा एमालेका सत्यनारायण यादवले २,१५८ मत ल्याएर जसपाका जागेश्वर यादव (२,११७ मत) लाई पराजित गरे । नरहरा गाउँपालिकामा जसपाकै कौशल मण्डल (२,५१७ मत) लाई हराउँदै एमालेका रामप्रमोद यादव (२,६९५ मत) अध्यक्ष निर्वाचित भए ।
मधेश प्रदेशमा भने कांग्रेस नै पहिलो दल बनेको छ । १३६ मध्ये कांग्रेसले ४४ सिट जितेर पहिलो शक्ति बन्यो । ०७४ को चुनावबाट पनि पहिलो शक्ति रहेको कांग्रेसले ४० सिट जितेको थियो । त्यसबेला १८ स्थानीय तह मात्रै जितेर एमाले पाँचौं शक्तिमा सीमित बनेको थियो । यसपटक भने ८ स्थानीय तह बढी जितेर तेस्रो शक्ति बनेको छ । एमालेले सप्तरीमा ९, पर्सामा ५, बारामा ४, धनुषामा ३ र सप्तरीमा २ स्थानीय तह जितेको छ । महोत्तरी, सर्लाही र रौतहटमा एक÷एक स्थानीय तह जितेको छ । अर्थात् सिरहाले ०७४ भन्दा ५ स्थानीय तह बढी जितेकाले एमालेको अवस्था सुधार देखियो ।
०७४ को चुनावमा मधेश प्रदेशका आठ जिल्लाबाट २५ स्थानीय तह जितेको माओवादी यसपटक ९ स्थानीय तहमा खुम्चिएको छ । पटकपटक मन्त्री भएका गिरिराजमणि पोखरेलकै जिल्ला महोत्तरीमा माओवादी केन्द्रले एक पालिका पनि जित्न सकेन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि यसपटक आधा बढी सिट गुमाएको छ । ०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट चुनाव लडेको लोसपाले २५ स्थानीय तह जितेकामा यसपटक १२ मात्रै जितेको छ ।
पृथकतावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले चर्चा अनुसार जित्न सकेन । सप्तरीको बिहुल बलान गाउँपालिका र हनुमान नगरपालिकाको प्रमुख जनमत पार्टीले जितेको छ ।
३ बैशाख २०७९, शनिबार
ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली
सर्लाही, ३ वैशाख: आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।
विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।
२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे ।
एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।
जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।
उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् ।