तीन महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिए

सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट



काठमाडौं, २६ साउन: बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

 

अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

 

सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

 

 

सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् ।

 

अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट आएका छन् ।

 

उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२ हजार ७४८, बेलायतबाट ८ हजार ६०८, बंगलादेशबाट ७ हजार ६१६ र अष्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्टिय« विमानस्थल हुँदै नेपाल भित्रिएका थिए ।

 

 

यस्तै, फ्रान्सबाट २ हजार ८१४, जर्मनीबाट २ हजार ४२३, क्यानडाबाट २ हजार ३७०, चीनबाट १ हजार ७९७, रुसबाट १ हजार ५६६, दक्षिण कोरियाबाट १ हजार २५०, स्पेनबाट १ हजार २८३, नेदरल्याण्ड्सबाट १ हजार २७७, सिंगापुरबाट १ हजार १९३, थाइल्याण्डबाट १ हजार १५१, बेल्जियमबाट १ हजार ७६, जापानबाट १ हजार ५२, इटालीबाट १ हजार ४३, फिलिपिन्सबाट १ हजार ३७, पाकिस्तानबाट ९९५, टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।


२० माघ २०७८, बिहीबार

जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।

 

कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ ।

 

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् । अघिल्लो सन् २०२१ को सोही महिनामा आठ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९८४ विदेशी बाहिरिएका छन् ।

 

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्नुहुन्छ । “अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिलेको असहज परिस्थितमा पनि १६ हजार बढी पर्यटक भित्रिनु निकै सकारात्मक पक्ष हो, यसले के सन्देश दिन्छ भने नेपालमा अब नेपालमा वास्तविक पर्यटक आउन थाले, पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा पैदा भएको छ, यो सङ्ख्या हेर्दा नेपालमा पर्यटक आउन थाले भन्नुपर्छ ।”

 

यो पटक सार्क मुलुकबाट सबैभन्दा बढी पाँच हजार ५०५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै तीन हजार ९१६ र बङ्गलादेशबाट एक हजार २३१ पर्यटक नेपाल भित्रिएका छन् । युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० र अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल आएका छन् । सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।


१६ मंसिर २०७८

पर्यटक आगमनमा झिनो सुधार

सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

 

नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

 

बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ । पर्यटक आगमन बढेको भए पनि सङ्ख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनले लय समातेको देखिन्छ तर सङ्ख्यात्मक रुपम कम नै हो । यो अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।”

 

 

सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबारमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

 

यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको सङ्ख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्याधिक सङ्ख्यामा पर्यटक आएका थिए । सन् २०२९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्याङ्क छ ।

 

 

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Comments Box