४ असोज (रासस) : असोज पूर्णिमाका दिन अगस्त्यसहित ऋषिगण तथा देवगणलाई तर्पण दिँदै हिन्दू परम्पराका मैथिलले पितृपक्ष प्रारम्भ गरेका छन् । असोज कृष्णपक्षदेखि पितृपक्ष प्रारम्भ भए पनि मिथिलामा पूर्णिमाकै दिनदेखि पवित्र जलाशयमा तर्पण दिने परम्परानुसार यहाँका पवित्र जलाशयमा यसैअनुसार आज पूर्णिमाका दिनदेखि पितृपक्ष सुरु भएको हो ।
“दिवङ्गत पितृलाई तर्पण दिनुअघि ऋषिमुनिको स्मरण गर्ने हिन्दू मैथिल परम्परा छ”, बर्दिबास–२ का पुरोहित महेशकुमार झा भन्नुहुन्छ, “यसैअनुसार पहिलो तर्पण अगस्त्य ऋषिलाई दिइने र मङ्गलबारदेखि पितृ तर्पण थालिने छ ।” अगस्त्य ऋषि र दिती, अदितिसहितका उहाँका पत्नी ब्रह्माको आदेशले सृष्टि प्रारम्भ गर्ने आदिमानव मानिएको उहाँको भनाइ छ ।
असोज कृष्णपक्षलाई पितृपक्ष ९मैथिली बोलचालमा पितरपक्ष० वा सो¥हश्राद्ध भनिने गरिएको छ । यस अवधिमा पितृ ९दिवङ्गत आफन्त० स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वी आएका पितृले आफ्ना सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासमा यस अवधिभर तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा छ ।
पितृपक्ष प्रारम्भको एक दिनअघि आज पूर्णिमाकै दिन जिल्लाका धार्मिक महत्वका जलाशयमा तर्पण र तीर्थश्राद्ध गर्नेको भीड बढेको छ । जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, वरुण र भार्गव सर, बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथ महादेवस्थान श्रद्धालुको जमघटले भरिभराउ भएकोे छ ।
यसैगरी बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिवास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायत नदीतटमा तर्पण दिने यजमानलाई सङ्कल्प गराउन पुरोहितको पनि व्यस्तता बढेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई भ्याइनभ्याइ भएको हो । यो क्रम असोज अमावस्यासम्म रहनेछ ।
पितृपक्षका बेला तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आजदेखि तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् । यो पक्षमा पितृपक्ष र मातृपक्षसँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ पनि भनिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीमै गरिने हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्ध चाहिँ १६ तिथिका हुने भएकाले यस पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
यस पक्षमा पार्वण र एकोपार्वण श्राद्ध गरिन्छ । यस पक्षबाहेक अन्य तिथिमा दिवङ्गत भएर बर्खान्त गरिएका पितृलाई तर्पण, पिण्ड दिइने श्राद्धलाई पार्वण र यसै पक्षमा दिवङ्गत भएका पितृको गरिने श्राद्धलाई एकोपार्वन भनिने भङ्गाहा–५ का पुरोहित विष्णुप्रसाद शर्मा बताउनुहुन्छ । यी श्राद्ध तीर्थस्थल वा घरमै पनि गरिने चलन छ । यस पक्षबाहेक अन्य समयमा दिवङ्गत पितृका तिथिमा गरिने श्राद्धलाई भने एकोदिष्ट भनिन्छ, त्यसमा उनै दिवङ्गतलाई मात्र एउटा पिण्ड दिइन्छ ।
दशैँ, तिहार र छठजस्ता चाडबाडअघि पितृको स्मरण गर्नाले पारिवारिक बिघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास छ । यी पर्वबाहेक घरमा आयोजना गरिने अन्य माङ्गलिक कार्यअघि पनि पितृलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने वैदिक परम्परा रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
वर्षका अन्य बेला गरिने गरिने शुभकार्यअघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भनी गरिने कामना जस्तै दशैँ, तिहार र छठपर्वका मुखमा पितृलाई तृप्त गर्न एक पक्ष नै छुट्याइएको हुन सक्ने सोही विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ । हिन्दू परम्परानुसार पितृपक्षभर मत्र्यलोक आएका पितृले आफ्ना सन्तानले दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।