कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्यो ।
२०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न चीनसँग छलफल गर्ने आश्वासन दिएका थिए।
गोरखामा मात्रै चीनसँग जोडिएका २ वटा नाका छन् । चुमनुब्री १ सामागाउँस्थित रुईला र चुमनुब्री ७ छेकम्पारस्थित ङुइला नाका कोरोनाको समयदेखि बन्द भएको हो । बर्खाको चार महिना सदरमुकामबाट उत्तरी क्षेत्रसम्म पुग्ने सबै बाटोहरु अवरुद्ध हुँदा खाद्यान्न अभाव हुन थालेको छ । नाकाबन्दी हुनुअघि छेकम्पारस्थित ङुइला नाका बाह्रै महिना खुल्ला हुन्थ्यो भने रुइला नाका वर्षमा एक पटक दुई वा तीन हप्ताका लागि खोलिन्थ्यो ।
तिब्बतबाट चुमनुब्री गाउँपालिका वडा नम्बर १, २, ४, ६ र ७ का बासिन्दाले चामल, नून, घ्यू, चिया, तेल, चिनी, खुर्सानी, निर्माण सामग्री लगायत आयात गर्छन् । त्यहाँका स्थानीयले उत्पादन गरेका सामान पनि सोही नाकाबाट बिक्री गर्ने गरेका थिए । ल्हो र सामागाउँवासी कोरोना जोखिमअघि तिब्बतको कोङ्थानमा उपभोग्य सामग्री खरिदका लागि पुग्थे । चुम्चेत र छेकम्पारवासी भने दुई दिन दूरीमा रहेको तिब्बतको स्यो बजार पुग्थे । अहिले यी दुवै नाकामा चिनियाँ सुरक्षाकर्मीले प्रवेश रोकेका छन् ।
त्यहाँका स्थानीयले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । तर नाका खुलेको छैन ।
गोरखाको तल्लो बजारबाट सामागाउँलगायत सीमा क्षेत्रका गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदा लागत मूल्यको तेब्बर बढी ढुवानी तिर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।
गोरखा मात्रै होइन, मुस्ताङको कोरला नाका पनि उति नै समयदेखि बन्द छ । चीनतर्फ अहिले भव्य महल बनिरहेको छ । तर नेपालले न भन्सार कार्यालय बनाउन सकेको छ न त नाका खोल्न पहल नै गरेको छ ।