खेमराज गौतम (रासस)
गलकोट, २१ माघ -नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आश पलाएको छ।
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेघावट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अन्तिम चरणमा पुगेको छ। अहिले निसीखोलामा विद्युत् गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन भइरहँदा बागलुङका जनता आयोजना निर्माण हुनेमा आशावादी भएका छन्। पाँच वर्षदेखि अध्ययनकै क्रममा रहेको उक्त आयोजना नेपालकै ठूलो र नमूना आयोजनाका रूपमा सरकारले लिँदै आएको छ। आयोजना निर्माणको कार्य ढिलो गरी अध्ययनको अन्तिम चरणमा पुगेकाले यहाँका स्थानीयवासीमा आशा पलाएको हो।
दुई वर्षअघि विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन गरेको नेपाल विद्युत् प्राधिकरणले अहिले निसीखोलामा निर्माण हुने भूमिगत विद्युत् गृहको ड्रिल प्रविधिको प्रयोग गरी अध्ययन थालेको छ। शुरुमा आयोजना निर्माण गर्न स्थानीयवासीले चासो नदिए पनि यसको फाइदाका विषयमा जानकारी पाएपछि आयोजना निर्माण गर्न ढोरपाटन र निसीखोलाका जनताले सहजता प्रदान गरेका थिए। आयोजना निसीखोलामै खसालेर बन्नुपर्ने पटक–पटक माग उठाउँदै आएपछि अहिले आयोजना बन्नेमा यहाँका जनता आशावादी भएको ढोरपाटन नगरपालिका–९ नवी गाउँका भक्तबहादुर विकले जानकारी दिनुभयो। “हामी निकै विश्वस्त छौँ, ढिलो चाँडो आयोजना बन्छ भन्नेमा अब हामी पुगेका छौँ”, विकले भन्नुभयो, “अहिले अध्ययन भइरहेको र केही वर्षमा आयोजना शुरु हुनेछ, यसले बागलुङवासीलाई निकै फाइदा हुनेछ र यहाँका गरीब समुदायका नागरिकको जीवनस्तर उकासिनेछ भन्ने हामीलाई विश्वास छ।”
ढोरपाटनस्थित उत्तरगङ्गाको पानी खसाल्ने स्थान निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पुमा माटो परीक्षण (सोयल टेष्ट)को काम शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार डिटेल डिजाइन पूर्व आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन गत वर्ष नै सम्पन्न भएको र अहिले भूमिगत विद्युत् गृह निर्माण हुने स्थानको अवस्थाको अध्ययन भइरहेको नेपाल विद्युत् प्राधिकरणका निर्देशक अजव सिंह महराले जानकारी दिनुभयो। अहिले आयोजनाको डिटेल डिजाइनको काम भइरहेको छ। प्राधिकरणका अनुसार आयोजना निसीखोलामै निर्माण गर्नेगरी नेपाल सरकारले विगत छ वर्षदेखि निरन्तररूपमा काम गरिरहेको छ। शुरुमा निसीखोला खसाल्ने अथवा रुकुम खसाल्ने भन्ने विषयमा ऊर्जा मन्त्रालयमा केही समस्या भए पनि प्राधिकरणले निरन्तररूपमा नै निसीखोलामा विद्युत् गृह निर्माण गर्नेगरी काम भइरहेको जनाएको छ।
अहिले निसीखोलाको सम्पुमा हेलिकप्टरमार्फत सामान ढुवानी गरी माटो, ढुङ्गा परीक्षणको काम थालिएको छ। आयोजनाको ड्याम निर्माण हुने स्थान ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकाको पाँच स्थानमा केही वर्षअघि नै परीक्षण गरे पनि भौगोलिक जटिलताका कारण हेलिकोप्टरबाट सामग्री ढुवानी गर्नुपर्ने भए पनि निसीखोलामा निर्माण हुने भूमिगत जलविद्युत् गृहको माटो परीक्षण गर्न सकिएको थिएन। प्राधिकरणले एक हप्ताअघि हेलिकप्टरमार्फत ड्रिलिङ गर्ने स्थानमा सामग्री पु¥याएर अध्ययनको काम गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गतको उत्तरगङ्गा पावर कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकेशकुमार झाले जानकारी दिनुभयो। “हामीले आयोजनालाई निरन्तर अघि बढाएका छौँ, सरकारले निरन्तररूपमा आयोजनाको काम गर्न बजेटसमेत दिँदै आएको छ”, झाले भन्नुभयो, “ठूलो आयोजना र नेपालकै नमूना आयोजना भएका कारण अध्ययनमा धेरै समय खर्चिएका छौँ, अब विद्युत् गृहको भौगोलिक अध्ययनपश्चात् डिपिआरको कार्य शुरु हुन्छ।”
यो आयोजना नेपालको सबैभन्दा सस्तोमा विद्युत् उत्पादन गर्ने आयोजना हुने भएकाले सरकारले यसलाई निरन्तररूपमा काम गर्ने गरी अगाडि बढाएको छ। झाका अनुसार सम्पुबाट ३३० मिटरभित्र ड्रिलिङ गरी भूमिगत विद्युत् गृह निर्माण हुने स्थानको अवस्थाका बारेमा जानकारी लिने आयोजनाले जनाएको छ। आयोजनाले भौगोलिक अध्ययनको काम ड्रिलिङपश्चात् सकिने र तुरुन्तै डिटेल डिजाइनतर्फ आयोजना जानेछ।
यसअघि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएर सुझाव सङ्कलन गरी वातावरणीय मूल्याङ्कन तयार गरिसकेको छ।
प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित बन्नसक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूखलगायतको लगत सङ्कलन भइसकेको छ। आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययन गरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ऊर्जा मन्त्रालयमा पेश भइसकेको आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि ८२८ मेघावाटको लाइसेन्स प्राप्त गरेको पाँच वर्ष पूरा भइसकेको छ।
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ। ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगङ्गा जलाशययुक्त आयोजना रहेको समेत प्रतिवेदनमा उल्लेख रहेको छ। वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन आइसकेको र अब भौगोलिक अवस्थाको प्रतिवेदन तयार हुँदासाथ डिटेल डिजाइन गरी आयोजना अगाडि बढाइने प्राधिकरणको भनाइ रहेको छ।
आठ सय २८ मेघावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन। आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३५० मेघावाट उत्पादन हुने भएपछि निसीखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ।
उक्त आयोजना निर्माण गर्नका लागि करीब ६०० घरधुरी विस्थापित हुनेछन् भने पाँच हजार कित्ता जमीन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ। ढोरपाटनमा रहेको उत्तरगङ्गा नदीको पानीलाई एक हजार ३५० मिटर तल निसीखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ। आयोजना निर्माणका लागि करीब १२० अर्ब खर्च लाग्नेछ। जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि वर्षात् र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुनेछ। विस्तृत प्रारूपमा मेगावाट र खर्च केही तलमाथि हुन सक्नेछ। हिउँदको समयमा रुकुम जाने पानीलाई सोही अनुसार पठाउने गरी सब–ड्याम निर्माण गर्ने र सोही ड्यामबाट समेत आठ मेगावाट विद्युत् उत्पादन गर्न सकिने गरी काम गर्दा विवाद टर्ने उत्तरगङ्गा पावर कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकेशकुमार झाले बताउनुभयो। “निसीखोलामा खसाल्नेबाहेक अन्य कुरा प्राधिकरण छैन, हिउँदमा रुकुम बग्ने उत्तरगङ्गालाई नसुकाउनका लागि वर्षाको सबै पानी ड्याममा जम्मा गर्ने योजना रहेको छ। सबड्याममा जम्मा भएको पानी हिउँदमा रुकुम बगाइनेछ भने मुख्य ड्याममा जम्मा भएको पानी निसीखोलामा खस्नेछ। यसो गर्दा ८२८ मेघावाटबाट उत्पादन हुने क्षमता घटेर ८२१ मेघावाट हुने प्राधिकरणको अनुमान रहेको छ।
बागलुङको मात्र नभएर नेपालको भविष्यसँग जोडिएको आयोजना निर्माण हुने भएपछि खुशी भएको स्थानीयवासी लीला छन्त्यालले बताउनुभयो। “आयोजनाको भौगोलिक अध्ययनअन्तर्गत निसीखोलामा परीक्षण बाँकी रहेको रहेछ”, छन्त्यालले भन्नुभयो, “अहिले मध्यपहाडी लोकमार्ग देखि १० किलोमिटरमाथि डाँडामा हेलिकप्टरमार्फत आवश्यक सामग्री लगेर परीक्षणको कार्य शुरु भएको छ।” माटो र ढुङ्गा परीक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको माटो, ढुङ्गा परीक्षण प्रयोगशालाको प्राविधिक टोलीसमेत निसीखोला आएको छ।
सरकारले बागलुङको निसीखोलामै विद्युत् गृह निर्माण गरी आयोजना अगाडि बढाउनुपर्ने निरन्तरको पहलले सार्थकता पाउन थालेको बागलुङका निवर्र्तमान सङ्घीय सांसद डा सूर्य पाठकले बताउनुभयो।
उक्त डाँडाबाट ३३० मिटर तल भू–गर्भमा विद्युत् गृह निर्माण हुनेछ। बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाको समथर भूभागलाई समेटिएर निर्माण गर्ने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुनेमा विश्वस्त भएका छन्। दश वर्षअघि जाइकाले ढोरपाटन क्षेत्रमा ८२८ मेघावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् निर्माण गर्न सकिने बताएपछि यस क्षेत्रका जनताले जलविद्युत् तथा पर्यटनको क्षेत्रमा विकास हुनेमा बागलुङवासी विश्वस्त छन्। हालसम्म सरकारले उच्च प्राथमिकताको आयोजनामा राख्दै आएको उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई निरन्तररूपमा अध्ययन गर्न बजेटसमेत विनियोजन गर्दै आएको छ।
ढोरपाटन उपत्यकामा विशाल जलाशयको निर्माण गरी बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पावरहाउस रहने गरी यो आयोजनाको लाइसेन्स नेपाल विद्युत् प्राधिकरणले लिएको छ र यो आयोजना अहिले प्राविधिक अध्ययनको क्रममा छ। आयोजनालाई विसं २०७६ असार १७ गते विद्युत् विकास विभागले ८२८ मेघावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत् उत्पादन अनुमतिपत्र दिइसकेको छ। अहिले प्राधिकरणले निरन्तररूपमा अध्ययन गरिरहेको र अध्ययनको अन्तिम चरणमा रहेको जनाएको छ।
विदेशी साहसिक पर्यटकहरूको मुख्य रोजाइसमेत रहेको ढोरपाटन सिकार आरक्ष र उत्तरगङ्गा जलाशययुक्त आयोजना एकै स्थानमा रहेकाले यसको महत्व झनै बढेर जाने र जलाशययुक्त नदी पर्यटकहरूको नयाँ आकर्षणको केन्द्र बन्ने ढोरपाटनवासीले विश्वास व्यक्त गर्दै आएका छन्। ढोरपाटन उपत्यका र आसपासको पर्यटकनसँगै ड्यामले थप पर्यटकलाई आकर्षण गर्नेछ। आयोजना प्रभावितहरूलाई ढोरपाटन उपत्यकाको केहीमाथि स्थान्तरण गर्न सकिनेछ। तर केही स्थानीयवासीले भने आफूले प्रयोग गर्दै आएको जग्गा डुबानमा पर्ने तथा ढोरपाटन सिकार आरक्षको सुन्दरता कुरुप हुने भन्दै आयोजनाको विरोध गर्दै आइरहेका छन्। सरकारले उच्च प्राथमिकतामा राखेको उक्त आयोजना सफल भएमा विद्युत निर्यात गर्न सकिनेछ।