गौरीशंकर संरक्षण क्षेत्र र तामाकोशी विच टकराव – रोल्वालिङ आयोजना अनिश्चित



सरकारले निर्माण गरिरहेको २२ मेगावाटको रोल्वालिङ जलविद्युत् आयोजनालाई सरकारकै अर्को निकाय गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले रोक लगाएपछि आयोजना र संरक्षण क्षेत्रबीच द्वन्द्व बढेको हो । काम थालेको एक वर्षपछि गौरीशंकर संरक्षण क्षेत्रले अचानक माथिल्लो तामाकोसी आयोजनाको रोल्वालिङ खोला जलविद्युतको काममा रोक लगाएको छ । संरक्षण क्षेत्रले तामाकोसीलाई पत्र लेखेर आयोजनाको काम रोक्न निर्देशन दिएको छ ।

 

माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी-५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजनाको पहिचान भएर निर्माणका लागि पूर्वतयारीको काम चलिरहेको छ । तामाकोशी जलविद्युत आयोजनाले रोल्बालिङ जलविद्युत आयोजनाको पूर्वतयारीका कामका लागि ठेक्का सम्झौता गरेर एक वर्षदेखि काम गरिरहेको थियो । कम्पनीले स्थानीय कामदार परिचालन गरेर पहुँचमार्ग र अडिट टनेल बनाउने लगायत विभिन्न पूर्वतयारीका काम गरिरहँदा संरक्षण आयोजनाले काम रोकेको हो ।

 

नयाँ आयोजना बन्न लागेको रोल्वालिङ खोला छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । यो खोलाको पानी अहिले माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा तल खस्छ । यो आयोजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइनेछ र २२ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ । यसबाट तामाकोशीमा हिउँदमा पनि पानीको मात्रा बढेर माथिल्लो तामाकोसी आयोजनाको विजुलीको उत्पादन बढ्नेछ । यसले भारतबाट पिक आवरमा विद्युत आपूर्ति गर्नुपर्ने बाध्यता हटाउन सघाउँछ ।

 

विद्युत विकास विभागबाट २०७४ को भदौमा नै २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति पनि तामाकोशीले नै पाएको थियो । रोल्वालिङको पानी तामाकोशीको रिजर्भ्वायरमा खसाल्दा तामाकोसीबाट हिउँदमा पनि उत्पादन बढ्नेछ ।

 

तामाकोशीको जलाशयको सतहभन्दा करिब दुई सय मिटरमाथिबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउँछ । उक्त ‘वाटर हेड’ प्रयोग गरी २२ मेगावाटको अलग्गै आयोजना निर्माण गर्न लागिएको छ । यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट बिजुली थपिने अनुमान छ । यसले २ सय गिगावाट आवर थप विजुली प्राप्त गर्न सहयोग गर्ने छ ।

 

 

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

 

 

करिब ८० मेगावाटका आयोजनाबाट उत्पादन हुने बराबरको विद्युत रोल्वालिङ डाइभर्सनबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसका लागि करिब सात किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसको विस्तृत अध्ययन भएर अडिट टेनल निर्माणको तयारी सुरु भएकै अवस्थामा काम रोकिएपछि आयोजनाको भविष्य अन्योलमा परेको छ ।

 

 

रु ३५ अर्ब रहेको शुरुआती लागत बढेर झण्डै रु ८० अर्ब भएको माथिल्लो तामाकोशीको नयाँ भाका

१२ असार २०७८: बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।

 

 

यस्तै हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ । सो युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो ।

 

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको हो । प्रसारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको डा न्यौपानेले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ । “तामाकोशी करिडोरबाट आएको प्रसारण लाइनको बिजुली न्यू खिम्ती सबस्टशेनमा जोडिने भएको छ, सोही सबस्टेशनबाट बिजुली प्रणालीमा उपलब्ध हुनेछ”, डा न्यौपानेले भन्नुभयो ।

 

यसअघि बिजुली ढल्केबर सबस्टेशनमा जोड्ने तयारी थियो । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले आज एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ । सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती हुुन सक्ने सूचनामा उल्लेख छ ।

 

प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने र औद्योगिक ग्राहकलाई पर्ने समस्या तथा असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । माथिल्लो तामाकोशीको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम भइरहेको छ । आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत आयोजनाले पैदा गरेको छ ।

 

शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो । सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

Comments Box