हिउँदयामको अनुकुल मौसममा हिउँ नपर्दा हिमाली जिल्ला मनाङ मुस्ताङका कृषक चिन्तित देखिएका छन्। यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो।
मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङी कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेंसीसहर झर्ने गर्छन् ।
विगतका वर्षहरूमा खेतयोग्य जमिन र डाँडाकाँढा हिउँले सेताम्मे हुन्थे। हिउँ नपर्दा यहाँका खर्क र डाँडाकाँढा फुस्रा र नांगा देखिएका छन्। हिउँदयामको हिउँ कृषकका लागि बरदान मानिन्छ। हिउँ पर्दा खेतीयोग्य जमिन मलिलो हुने र खनजोत गर्न सहज हुन्छ।
कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार हिउँदयाममा परेको हिउँ पग्लिएर खेतबारीको सिँचाइ र जमिनलाई चिस्यान प्रदान गर्ने भएकाले खेतबारीमा राखिएको मलजल जमिनको भित्री तहसम्म पुग्छ। कृषि अधिकृतसमेत रहेका नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताए । उनका अनुसार डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ देखिए पनि बस्ती र खेतबारीमा आइसकेको छैन । कहिलेकाहीं पानीको छिटा परे पनि हिउँ भने नपरेको उनले बताए ।
स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यक पर्ने र चिलिङ रिक्वायरमेन्टका लागि शून्य डिग्री तापक्रम आवश्यकता पर्ने हुँदा हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुने केन्द्रका कार्यालय प्रमुख बस्ताकोटी बताउँछन्। हिउँदयामको हिउँले स्याउ, जौं, उवा, गहु, मकै, उवा र फापरबाली राम्ररी सप्रिने उनले बताए।
४ हजार २ सय मिटर उचाइमा रहेको नार र ४ हजार ५० मिटर उचाइमा रहेको फू गाउँ यतिबेला रित्तै छन् । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै झरिसकेका छन् । मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र १ हजार ७ सय मिटर उचाइमा रहेको तालमा समेत यसअघि यो समय हिउँ पर्ने गर्थ्यो ।
१७ चैत्र २०७७, मंगलवार
पानी नपर्दा तरकारी किसान बिलखबन्दमा
होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो । “खेतबारीमा भन्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानी विना सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ ?” उहाँले बिरक्तिँदै थप्नुभयो, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्ये सकिँदासम्म पानी नपर्दा वैशाखे तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ । “नयाँ वर्ष लागेसँगै लकडाउनको मार प¥यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भन्नुभयो, “अघिल्लो बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।” जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्वर ठाउँ मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले बिरक्तिएका हुन् । “बस्ती नजिकै जता हे¥यो, खोलाखोल्सी छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भन्नुभयो, “तर खोलाखोल्सी सिँचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्ने मात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भन्नुभयो, “खै हाम्रो त कर्म नै खोटो पो हो कि क्या हो…?” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर) को काम पनि सकिएको महतोको भनाइ छ । स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य भएका छन् ।
यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आफूहरु बिलखबन्दमा परेको किसानको दुःखेसो छ । जिल्लामा मौसमी÷ बेमौसमी र वर्षभरिका विभिन्न याम (ऋतु) मा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । महोत्तरी जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करीब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसान बताउँछन् ।
किसानको यो चिन्ताबीच प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ । यसैगरी, जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्माणका काम भइरहेको जनाएका छन् ।