सीप शिक्षाको तगारोः सूचना



कैलाली टिकापुरको सरस्वती माध्यमिक विद्यालयको छात्राबासमा रहेका ३०/३२ जना पूर्व कमलरी बालिका सधै स्कुल सकिएपछि के गर्ने भन्ने चिन्तामा हुन्छन् । सरकारले दिने नाम मात्रको जीवनयापन भत्ताले मुस्किलले खान पुग्छ । त्यो पैसाले अहिलेका महङ्गा प्लस टुमा पढने कल्पना समेत गर्न सक्दैनन् । स्कुल सकिएका बालिकाहरूलाई नियमानुसार छात्राबास छोडेर जा पनि भन्न सक्दैन । त्यसैले पनि कयौं किशोरी स्कुल सकिएपछि पनि त्यही छात्राबासमा छन्, आफै पकाउँछन् आफै खान्छन् आफै पढ्छन् ।

सरस्वती माध्यमिक विद्यालयको केही पर छ सरकारद्वारा सञ्चालित टिकापुर पोलिटेक्निक इन्स्टिच्युट । महिला, दलित, जनजाती तथा सिमान्तकृत व्यक्तिहरूलाई ब्यापक रुपमा सीपमूलक तालीम दिई रोजगार गराउने उद्देश्य लिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) को एउटा अंग । सिटिइभिटीले प्रत्येक वर्ष ८०३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि दिन्छ । दलित, मुस्लिम विपन्न वर्गका किशोरकिशोरीहरूलाई खाना, बस्न, पोशाक र यातायत खर्च समेत दिएर डिप्लोमा तथा प्रमाण पत्र तह पढाउने व्यवस्था छ ।
Education chef




तर ती पूर्व कमलरी बालिकाहरू आफूले आश्रय लिएको ठाउँभन्दा केही परको टिकापुर पोलिटेक्निक इन्स्टिच्युटसम्म पुग्न सकेका छैनन् न त सिटिइभिटी आफ्ना् छात्रवृत्ति लिएर यी सिमान्तकृत बालिकाहरूसम्म नै पुग्न सकेको छ ।


नेपालमा सीप शिक्षाको मुख्य तगारो नै सूचना हो । पहिलो त सिटिइभिटीले यति धेरै छात्रवृत्ति दिन्छ भन्ने कुराको जानकारी आम मानिशमा विशेष गरी महिला, दलित, जनजाती तथा सिमान्तकृत व्यक्तिहरूलाई छैन । यस्तो छात्रवृत्ति लिने प्रक्रिया के हो त्यसको जानकारी पनि छैन । दोश्रो संसारभरि टिभेट भनेर चिनिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालीममा जोडिएपछि ति विषयमा विए, एमए वा चाहिन्छ भने पिचडीसम्म गर्न सकिन्छ भन्ने सूचना पनि कमै मानिशमा छ । आम मानिशले नबुझेको कुरा के हो भने प सिटिइभिटीबाट प्राविधिक एस.एल.सी. गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह) को रोजगारीको लागि योग्य मानिन्छन् भने तीन बर्षे डिप्लोमाका विविध कोर्षहरू पास गरेका विद्यार्थीहरू सरकारी सेवामा राजपत्रअनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा वा सो सरह)को लागि योग्य मानिन्छन् ।

 


यसैगरी तीन बर्षे डिप्लोमाका विविध कोर्षहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्षहरू पूरा गरेका विद्यार्थीले उच्च शिक्षा (व्याचलर डिग्री) हासिल गर्न आ–आफ्नो विधा अनुसार कतै सिधै र कतै केही पूर्व अवस्था पूरा गर्नुपर्ने हुन्छ । विद्यार्थीहरू आफ्नो रुचि र क्षमता अनुसार अन्य शैक्षिक संस्थाहरूमा गएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्छन् ।

 


तेश्रो सिटिइभिटीमा पढेपछि कमसल खालका काम मात्र गर्न मिल्छ भन्ने आम मानिशको भ्रमलाई चिर्ने सूचना पनि सर्वसुलभ रूपमा आम मानिशमा उपलब्ध छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीम मुलुकको आर्थिक र सामाजिक विकासको मेरुदण्ड हो । आज आफूलाई विकसित भन्ने सबैजसो देशमा टिभेट मुल धारको शिक्षाका रूपमा विकसित छ । आधारभूत विद्यालय शिक्षापछि टिभेट पढ्नेको दर स्विट्जरल्यान्ड तथा जर्मनीलगायत युरोपका धेरै देशमा ६० प्रतिशतको हाराहारीमा छ । एसियाका दुई समृद्ध देश सिंगापुर र दक्षिण कोरियाका कुरा गर्ने हो भने टिभेट पढ्नेको दर करिब ५० प्रतिशतको हाराहारीमा छ । तर हामीकहाँ सिटिइभिटीमा कमसल शिक्षा पढेनुभन्दा बेरोजगार नै बस्नु ठिक भन्ने खालको सोच हावी छ । यो भ्रम श्रमको सम्मान नगर्ने नेपाली सामन्तवादी सोचको परिणाम हो र यसलाई चिर्नका लागि दरो खालको सूचना अभियान नै चाहिन सक्छ ।


सूचनाको यो अभावलाई चिर्नका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) प्रयास नै नगरेको चाहिँ हैन । हालसालै मात्र सिटिइभिटीले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रबद्र्धनका लागि “सीप हुन्छ हातमा रोजगारी साथमा” नाराका साथ जनसचेतना अभियानको चलाएको छ । जनसचेतना अभियान अन्तरगत सिटिइभिटीले सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायलाई लक्षित विद्यालयहरूमा विद्यार्थीहरूलाई भविष्यका बारेमा मार्गनिर्देशन, विभिन्न उद्योगमा विद्यार्थीहरूको अध्ययन भ्रमण, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेला र लक्षित समुहका युवा, उनीहरूका परिवारका सदस्य तथा अभिभावकलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका लाभका बारेमा सुचना प्रवाह गर्ने लगायतका केही कार्यक्रम त ग¥यो । तर माहामारीले यसका अनेकन कार्यक्रमलाई इन्टरनेटमा सिमित गरिदियो ।

 


नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि सन् १९३० मा काठमाडौँमा वालाजु इन्जिनियरिङ शिक्षालयको स्थापनासँगै देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको विकासका लागि सिटिइभीटीले विगत ३ दशक देखी काम गर्दै आएको छ ।

 


यतिबेला सिटिइभीटी अन्तर्गत आङ्गिक संस्थाको रुपमा ५७ वटा संस्था, ५ सय ३४ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र ४ सय २९ वटा लामो अवधिको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त शिक्षालयहरू एवं १हजार १ सय ८१ वटा छोटो अवधिको तालीम सञ्चालन गर्न स्वीकृति लिएका निजी संस्थाहरू छन् ।

 


परिषद्् र परिषद्् मातहत सम्वन्धन प्राप्त शिक्षालय, कलेज र संस्थाहरूमा गरी तीन वर्षे डिप्लोमारप्रमाणपत्र तहमा वार्षिक ३८ हजार ०७६, प्राविधिक एस.एल.सी.मा ३५ हजार ८ सय ८७ र छोटो अबधिको तालीमहरूमा करिब ५० हजार प्रशिक्षार्थीहरूलाई भर्ना गरी प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रदान गर्ने क्षमता सिटिइभीटीको छ ।
तर पनि लक्षित वर्गसम्म यी कार्यक्रमहरू नपुग्नु र तीनै लक्षित वर्ग मिटरव्याजी साहुहरूसँग ऋण लिएर विदेश जानका लागि एयरपोर्टमा लाइन लाग्नु पछाडिको एक मात्र कारण सीप शिक्षा र त्यससम्बन्धी सुचनाका बीचमा रहेको ठूलो खाडल नै हो ।

 


प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालीमले एउटा व्यक्तिलाई व्यक्तिगत रूपमा सम्पन्न बनाउने मात्र होइन, उसको परिवारलाई नै आर्थिक तथा सामाजिक रूपमा सम्पन्नतातिर लान्छ । त्यसको प्रत्यक्ष लाभ समग्र समाजले पाउँछ र समाजको आर्थिक तथा सामाजिक सम्पन्नताले समग्र मुलुकको अर्थतन्त्र चलायमान हुन्छ, प्रगतिको पथमा लम्कन्छ । तर त्यसका लागि यससम्बन्धी सूचना लक्षित वर्गसम्म पुर्‍याउनै पर्छ ।

Comments Box