
तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो ।

व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो । उक्त तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए।

उनले स्थानीय स्रोत र साधन अर्थात् बाबियाको प्रयोग गरी बनाइएको ढकियाले अन्यत्रबाट ल्याइने ढकियालाई विस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।
पुस २१ गतेदेखि सञ्चालित सो तालिम बुधबार एक कार्यक्रमबीच समापन गरिएको छ । तालिममा सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यले बताए ।
तालिममा सहभागी भगवती भण्डारी र अन्जना भण्डारीले तालिम जीवन उपयोगी रहेको बताए । उक्त तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा र मधुमाया सारु मगरले प्रशिक्षण दिएका थिए।