८ पटक चुनाव लडे, मुख्यमन्त्रीपछि केन्द्रतिर फर्किए – पृथ्वीसुब्बा गुरुङ



 काठामाडौं । नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ हुन् पृथ्वीसुब्बा (पीएस) गुरुङ । उनी २०४३ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बनेका छन् ।

 

०४३ मा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि पिएस सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन् ।

 

 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएर गण्डकीको संस्थापक मुख्यमन्त्री बने । अहिले पनि प्रदेशमै दोहोरिने चाहना राखेका पीएसलाई केन्द्रीय कमिटीले केन्द्रतिरै तान्यो । २०७९ निर्वाचनमा लमजुङबाट निर्वाचित भएका हुन् ।

 

 

उनले पहिलो संविधानसभामा शासकीय स्वरूप निर्धारण समितिको सदस्य भई काम गरे भने व्यवस्थापिका संसदको प्राकृतिक श्रोत साधन समितिको सदस्य बनेर काम गरे । इशानेश्वर प्रमोद हाइ स्कुल भोर्लेटारबाट एसएलसी पास गरेका उनी अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण भएका हुन् । तत्कालीन समयमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भए भने त्यसपछि नै पार्टीको सक्रिय राजनीतिमा होमिएका हुन् ।

 

 

गुरुङ २०३५ सालमा मालेको मध्य–उत्तर इलाका पार्टी सक्रिय दलको सदस्य भए भने २०३७ सालमा पार्टीको सदस्यता लिए । केही समय शिक्षण समेत गरेका उनी २०४० मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित भए । २०४८ को पहिलो जिल्ला अधिवेशनबाट उनी एमाले लमजुङको सचिवमा निर्वाचित भए भने २०५४ मा छैटौँ महाधिवेशनबाट केन्द्रीय वैकल्पिक सदस्य निर्वाचित भए । त्यसपछि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर काम गरे ।

२०६० मा एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनी विभिन्न आन्दोलनका क्रममा गुरुङ पटक पटक प्रहरी हिरासतमा परेका छन् । गुरुङ २०६४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका उनीसँग प्रदेश संरचनापछिको पहिलो सरकार नेतृत्व गरेको अनुभव छ । उनी गण्डकीको संस्थापक मुख्यमन्त्री हुन् ।

 

 

रातोपाटी

Comments Box