प्रभु बैंकको सीईओमा शेरचन

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु



माघ १३ गते । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसक्नुभएका शेरचन पुनः तेस्रो पटक नियुक्त हुनुभएको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उहाँले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाउनुभएको हो ।

 

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उहाँ सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बन्नुभएको थियो । तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाउनुभएको हो ।

 

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ हुनुभएको थियो । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ हुनुभएका हो । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्नुहुनेछ ।

 


अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

Comments Box