मधेसमा बलिदानी दिवस: सहिदको सपना अधुरै

आन्दोलनमा महतोसहित ६४ जना सहिद भए । त्यसपछि पनि भएको पटक पटकको मधेश आन्दोलनमा १७ जना सहिद भएको सरकारी तथ्यांक छ ।



आज माघ ५ गते । मधेस प्रदेशमा आज १६ औँ बलिदानी दिवस मनाइँदै छ । १६ वर्ष अगाडी अर्थात् आजकै दिन (०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।

 

मधेश आन्दोलनका उनै पहिलो सहिद महतोको सम्झनामा हरेक वर्ष मधेश केन्द्रित दलहरूले बलिदानी दिवस मनाउँछ । प्रदेश सरकारले आज बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । लहानस्थित सहिद पार्कमा मधेसका मन्त्री र मधेसी दलका नेताहरू माल्यार्पण गर्ने कार्यक्रम छ ।

 

कसरी मारिए रमेश महतो ?

दोस्रो जनआन्दोलनको सफलतापछि ०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो । उक्त संविधानप्रति तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विमति जनाए । यादवको नेतृत्वमा काठमाडाैंको माइतीघर मण्डलामा माघ ३ मा अन्तरिम संविधान जलाइयो ।

 

त्यति बेला यादवसहितका केहि नेता पक्राउ परेका थिए । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाउने तयारी भइरहँदा मधेसका जिल्लाहरूमा आन्दोलन सुरु भयो । ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारियो ।

 

लहानमा कृष्णबहादुर यादव (निधन भइसकेका)को नेतृत्वमा राजमार्ग केन्द्रित आन्दोलन सुरु भएको थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीका जनमुक्ति सेनाहरू चढेको केहि गाडी पूर्वबाट पश्चिततर्फ गइरहेको थियो । उक्त गाडीलाई आन्दोलनकारीले रोक्यो, अगाडी बढ्न दिएनन् । अनि अवस्था तनावग्रस्त बन्यो ।

 

सो आन्दोलनमा लहानकै लिटिल स्टार बोर्डिङ स्कूलको कक्षा ९ मा अध्ययनरत रमेश महतो पनि सहभागी थिए । जनमुक्ति सेनाहरूले आन्दोलनलाई बेवास्ता गर्दै अगाडी बढ्न खोज्दा ढुङ्गामुडा भयो । सो क्रममा एक जनमुक्ति सेनाले भीडमै गोली चलायो र रमेश महतो मारिए ।
गोली लागेर महतो मारिएपछि माओवादी नेताहरूले उनको शव नै बेपत्ता पारेको थियो । शव बेपत्ता पार्न मातृका प्रसाद यादव नेतृत्व गरेका थिए । त्यति बेला मधेशमा उनको व्यापक विरोध भयो । एक त गोली हानेर हत्या गर्‍यो र शव पनि बेपत्ता पारेको खबरले मधेसभर आगो झैँ फैलियो आन्दोलन ।

 

आन्दोलनकारीले लहानमै सयौँ सवारी साधन र सरकारी कार्यालयहरूमा आगजनी गरे । सरकारी कार्यालयहरूमा त्यति बेला नै मधेश सरकार लेखियो । उक्त आन्दोलन १९ दिनसम्म चल्यो । सो आन्दोलनमा महतोसहित ६४ जना सहिद भए । त्यसपछि पनि भएको पटक पटकको मधेश आन्दोलनमा १७ जना सहिद भएको सरकारी तथ्यांक छ ।

 

पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेपछि मधेसी मोर्चा र तत्कालीन सरकारबीच आठ बुँदे सम्झौता भयो । उक्त सम्झौतापछि मुलुक संघीयतामा गएको हो । मुलुकमा संघीयता र समावेशिता मधेस आन्दोलनकै देन हो– मधेसी नेताहरू बताउँछन् ।

Comments Box