वायु प्रदूषणको भयाभय स्थिती : बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने



पुस ५ गते । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ।

 

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो। भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको छ।

 

तापक्रम चिसिएसँगै जमिनको नजिक रहेको वायु पनि चिसिन्छ। जसकारण त्यही चिसो वायुसँगै प्रदूषणका कण तल्लो वायुमण्डलमै मडारिइरहन्छ। आकाशमाथि प्रदूषित वायु जान नसकेपछि त्यो तुवाँलो बनेर आकाशमण्डलमा रहिरहँदा धर्तीमा बहने हावामा स्वच्छता कम हुँदै जान्छ। मौसमको अर्को कारणमा पश्चिमी वायु सक्रिय रहेकाले त्यो वायु पूर्वबाट आउनेभन्दा तल्लो वायुमण्डलबाट आउने गर्छ। जसले अरब सागरछेउछाउका प्रदूषण सोझै नेपालको वायुमा मिसाइरहेको हुन्छ।

 

भारत विश्वमै पहिलो प्रदूषित देश

विश्व वायु प्रदूषण सूचीअनुसार विश्वमा सबैभन्दा बढी प्रदूषित देश भारत रहेको छ। भारतका दिल्लीसहित दसभन्दा बढी सहर अत्यधिक प्रदूषित छन्। मानव स्वास्थ्यका दृष्टिकोणले भारत यतिबेला बस्न नहुने देशका रूपमा दरिएको छ।

 

भारतपछि बुर्किनोफासो, चाड र मध्य अफ्रिकामा अत्यधिक प्रदूषित देशको सूचीमा छन्।

 

नेपाल प्रदूषित देशमध्ये १३०औँ सूचीमा

नेपाल प्रदूषित देशमध्ये १३०औँ सूचीमा छ। नेपालको काठमाडौँ सहर सबैभन्दा बढी प्रदूषित सहर हो। काठमाडौँमा बिहान र बेलुकी वायु प्रदूषण उच्च हुने गरेको छ।

 

 

प्रदूषणका कारण बिहान बादल लागेजस्तो आकाश धुम्म हुन्छ भने बेलुका तल्लो तहमै प्रदूषणका कण मडारिरहँदा सवारी यात्रा गर्न पनि सकस हुन्छ। पोहोर साल बेमौसमी वर्षाले मौसमी प्रदूषण कम गराएको थियो। तर यस पटक मनसुन सकिएर पश्च मनसुनको समय र हिउँदको पन्ध्र दिन बितिसक्दा पनि वर्षा भएको छैन।


२३ चैत्र २०७८, बुधबार

बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै

नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

विश्वमा हरेक दश जनामध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने गरेको र हरेक वर्ष ७० लाख मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 

विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा बाँचिरहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको पाइएको छ । नेपालमा मात्रै सूर्तीजन्य पदार्थको सेवनबाट हुने रोगबाट २७ हजारभन्दा बढीको ज्यान जाने गरेको छ ।

 

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरूको मृत्यु हामीले नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरूले गर्दा हुने गरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गर्दै  वातावरण प्रदूषणका विषयमा गम्भीर बन्न सबैमा अनुरोध गरेकाे छ ।

 

नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक हो । देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरू हुन् ।

 

यसवर्ष नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाईदैंछ । जनस्वास्थ्यका मुद्दाहरुलाई सम्बाेधन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले बर्सेनि नारा तय गर्दछ ।

 

विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावको साक्षी छ । प्रत्येक बितेका वर्षलाई हेर्ने हो भने स्पष्ट र थप प्रमाणका साथ कसरी जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जिवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भनि देखाइरहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरू चालेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको र जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा रहेको जनाएको छ । यसका अतिरिक्त विभिन्न नीतिहरु जस्तैः राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको बिकास गर्ने प्रतिवद्धता जनाएको छ ।

 

नेपालले पेन्टमा हुने सिसाको मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागु गरेको छ र यस्को कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको मन्त्रालयको दाबी छ । मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकाहरुलाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्षभित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।

 

स्वास्थ्य सेवा संस्थाहरूमा स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चिजत गर्न आवश्यक सेवाहरूमा लगानी बढाउन जरुरी रहेको मन्त्रालयको दाबी छ । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धताअनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रासायनिक सुरक्षा, सरसफाइजस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ ।

 

काठमाडौं, २९ पुस ः
हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यकाको कलङकी वरपर रहेको सहरको दृश्य । तस्वीर ः प्रदीपराज वन्त÷रासस

२३ चैत्र २०७७, सोमबार

बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाण्डौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो । वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । उहाँले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो ।

 

बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो । गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो ।

 

प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

Comments Box