२०७९ को आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई सोलुखुम्बुबाट निर्वाचित भए । सोलुमा ३२ वर्षपछि एमालेले पहिलो पटक जितेको हो ।
कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मतमै सिमित रहे ।
७० वर्षीय केसीले अप्रत्यासित पराजय बेहोर्नु परेको हो । ०४८ सालयताका ७ मध्ये ५ वटा चुनावमा बलबहादुर केसीसँगै प्रमुख प्रतिस्पर्धी भएर पराजय बेहोरेको एमालेले २०७९ मा आएर भने सहज जित हात पारेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा ५१ हजारभन्दा बढी मत खसेको थियो । अहिले ४० हजार मात्रै मत खस्यो । बाँकी ११ हजार मतदाता सहरबाट जिल्ला नै आएनन् । जिल्ला नआएका ११ हजार मतदातामध्ये ९० प्रतिशत कांग्रेस समर्थित रहेको विश्लेषण हुन थालेको छ ।