तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने

‘दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय



नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीसहित तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन्।

 

तीन कम्युनिष्ट पार्टीहरुको हिजो बसेको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

 

विप्लव नेतृत्वको पार्टी, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर्ने निर्णय गरेका हुन्।

 

तीन कम्युनिष्ट पार्टीको बैठक बुधबार बुद्धनगरमा बसेको र चुनाव बहिष्कार, खारेजी गर्ने निर्णय गरेको प्रकाण्डले उल्लेख गरेका छन्।

 

विप्लव नेकपाको हालै सम्पन्न महाधिवेशनले चुनाव खारेजी अभियान चलाउने निर्णय गरेको थियो । हिजो लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाणले चुनाव अवरोध कसैले गर्न नपाउने भन्दै कारबाहीको चेतावनी दिएका थिए ।

Comments Box