
स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ।

मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो।
मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन थियो। मन्त्री श्रेष्ठ लाइन काटेर जान खोजेपछि सुरक्षा गार्डले ‘लाइनमा बस्नु’ भनेका थिए।

मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए पनि सुरक्षा गार्डले नमानेको आरोप छ। उनले जो भए पनि लाइनमा बस्नुपर्ने बताएका थिए।
उनीमाथि जाहेरी परेपछि प्रहरीले पक्राउ गरी पाँच दिन म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ।
यो घटनाबारे मन्त्री श्रेष्ठले छाया सेन्टरका सुरक्षा गार्डले आफूलाई ‘हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको’ बताए।
गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् । लाइनमा मन्त्रीभन्दा अघि भिसा आवेदक अरू व्यक्ति थिए । त्यसपछि स्थिति असहज बन्यो । लगत्तै मन्त्री श्रेष्ठ आफैं गुरुङमाथि जाइलागे । श्रीमतीले रोक्न खोजिन् तर मन्त्री रोकिएनन् । अगाडि बढ्दै गुरुङलाई कुनामा लगेर घेरा हाले । भिसा सेन्टरका अर्का सुरक्षा गार्ड बीचमा उभिएपछि मन्त्री श्रेष्ठले गुरुङमाथि हात हाल्न पाएनन् । त्यसको केहीबेरमा भित्रबाट मन्त्रीलाई मात्र आउन र बाँकी सबैलाई लाइनमा बस्न खबर आयो ।
जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन । मन्त्री श्रेष्ठ सेना र प्रहरीको सुरक्षा घेरामा थिए । मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै भरमा प्रहरीले सुरक्षा गार्डलाई जबर्जस्ती मुलुकी अपराध संहिताको कानुन लगाएर कारबाही गर्न खोजेको छ । नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ ।