संरक्षण अभावले लोप हुने अवस्थामा ‘गुँदेताल’

जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदे तालमा आउने



सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन ।

 

पोखरा–२६ लेखनाथमा रहेको गुँदे ताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्ण रूपमा संरक्षण हुन सकेको छैन ।

 

सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौ वटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदे ताल पोखरा–२६ मा पर्छन् ।

 

गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गरे। अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्व कालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिए।

 

ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको वासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् ।

 

गुँदे ताल वातावरण तथा मत्स्य सहकारी र गुँदे ताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ ।

 

विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि वन कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदे ताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताए।

 

वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण साँगुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जल क्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ ।

 

हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदे तालमा आउने गरेकै गुँद ताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिए।

 

संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठित रूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्तित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् ।

 

पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन्।तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिए।


२२ बैशाख २०७८, बुधबार

जलाधार संरक्षणसँगै समृद्धि यात्रामा खास्टे, न्युरेनी र गुँदे ताल

तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका–२६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र विकासमा वरदान साबित हुँदै गएका छन्। तालले यहाँको गरिमा र महत्वलाई विश्वसामु चिनाउन योगदान गरेको छ नै यसैका माध्यमबाट यहाँका स्थानीयवासी एकताबद्ध भई समृद्धि र विकासको अभियानमा पनि जुटेका छन्।

 

 

पोखरा महानगरपालिका वडा नं २६ स्थित खास्टे ताल र जेष्ठी ताल बाराही मन्दिर। तस्बिर सौजन्यः भीमपाणि बराल/रासस

 

 

पछिल्लो समयमा ताल आसपासका क्षेत्र खरानेफाँट र यसका जलाधार क्षेत्रका स्थानीयवासी, युवा तथा व्यवसायीको संयुक्त पहलमा वातावरण संरक्षणका साथै समृद्धि र विकासका पहल बढिरहेको छ। यसै पहलस्वरुप २०७३ माघदेखि खास्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था स्थापना भई आसपासका ७४५ सर्वसाधारण यसमा आबद्ध भइसकेका छन्। मत्स्य पालनले बिस्तारै व्यावसायिक रूप ग्रहण गर्दै जाँदा वार्षिक करिब रु आठ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ। सहकारीमार्फत गरिएको मत्स्यपालनले तालको दिगो संरक्षणमा योगदान पुग्नाका साथै सर्वसाधारणमा सचेतना अभिवृद्धिसमेत गरेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरि अधिकारीले बताउनुभयो। उहाँका अनुसार मासिक बचतसमेत हुने गरेको सहकारीमा वार्षिक रु दुई करोड बराबरको कारोबार हुने गरेको छ।

 

 

वडाभित्रका तीनवटै तालका आ–आफ्नै विशिष्टता छन्। खास्टे ताल २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तालमा पानीले ढाकेको क्षेत्रफल २०० हेक्टर रहेको छ। एक दशमलव पाँचदेखि पाँच मिटर गहिराइ रहेको यो ताल रामसार क्षेत्रमा सूचीकरण भएसँगै यसको संरक्षणमा  चासो बढेको देखिन्छ। सफा पानीको तालका रूपमा रहेको यहाँ विभिन्न प्रजातिका रैथाले चराका साथै हिउँदको समयमा आउने पाहुना चरा देख्न सकिन्छ। खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

 

यहाँको अर्को न्युरेनी ताल जम्मा १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालको १० हेक्टर क्षेत्रफल पानीले ढाकेको छ भने यसको गहिराइ एक दशमलव चार मिटर छ।

 

त्यस्तै गुन्द्री बुन्न प्रयोग हुने एक विशेष प्रकारको गुँद नामक वनस्पति धेरै पाइने भएकाले वडाभित्रको अर्को तालको नाम गुँदे ताल रहेको छ। चराको बासस्थानका लागि उपयुक्त मानिने यो ताल ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ। कूल २० हेक्टर क्षेत्रफल पानीले ढाकेको यस तालको गहिराइ एक दशमलव छ मिटर रहेको छ। रामसार सूचीमा सूचीकृत भएसँगै यसको संरक्षणमा थप चासो बढ्दै गएको देखिन्छ।

 

पर्यटकीय रूपमा समेत महत्वपूर्ण यी तालहरूको संरक्षणका लागि २०६६ सालदेखि खास्टे तथा न्युरेनी ताल संरक्षण समिति र गुँदे ताल संरक्षण समिति गठन गरी कामहरू अघि बढाइएको छ। संरक्षणमा विभिन्न सामाजिक सङ्घसंस्थाको आर्थिक तथा भावनात्मक सहयोगले यिनको संरक्षण र सौन्दर्यमा प्रगति हुँदै गएको छ। जैविक विवधताले सम्पन्न यी तालमा हिउँदमा साइबेरियादेखि दुर्लभ बसाइँ सर्ने प्रजातिका विभिन्न चरा आउने भएकाले चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो।

 

ताललाई जोडेर यहाँबाट कालिकालगायतका स्थानका लागि हाइकिङको मार्ग तय गर्नाका साथै यहाँस्थित तालबाराही मन्दिरसमेतका आधारमा धार्मिक पर्यटन लगायतलाई पनि सँगसँगै अघि बढाउन सकिने उहाँले बताउनुभयो। यी तालहरूको प्रवद्र्धन र विकासलाई लक्षित गरी खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको आयोजनामा गत चैत १२ देखि २२ गतेसम्म सञ्चालित १० दिवसीय लेखनाथ खास्टेताल महोत्सव, २०७७ आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवद्र्धन गरेको भण्डारीले जानकारी दिनुभयो।

 

खास्टे, न्युरेनी र गुँदे तालको पर्यटकीय चिनारीका लागि महोत्सव महत्वपूर्ण बनेको महोत्सव प्रचारप्रसार समितिका संयोजक भीमपाणि बरालले बताउनुभयो। कोरोना सङ्क्रमणका कारण महोत्सव अपेक्षितरूपमा सफल नभए पनि यसको यहाँको पर्यटकीय चिनारीमा यसले विशेष भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो। “तालले यहाँको प्राकृतिक सुन्दरता त बढाएका छन् नै, स्थानीयवासीको समृद्धि र विकासका लागि पनि उत्तिकै भूमिका खेलेको छन्”, बरालले भन्नुभयो, “दिगो संरक्षण र विकासको लक्ष्यका साथ अघि बढ्न सकेमा यहाँका स्थानीयवासीले यी तालबाट अधिकतम फाइदा लिन सक्ने देखिन्छ।

Comments Box