काठमाडौं ,२४ साउन: वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन ।
पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ ।
विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् ।
सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए ।
पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ ।
२०७९ साल सुरु भएपछिको तीन महिना– वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन् ।