लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरे

सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकोले सेवाग्राही बढेकाे



लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।

 

राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले बताए । गत आर्थिक वर्ष ०७७-०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए । जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए ।

 

गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्नेगरी तयारी भइरहेको प्रशासनले जनाएको छ ।

 

सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबैखाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान शुरु गरेको हो ।

 

सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्‍याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

Comments Box