राजमोलाई सत्ता चाहिन्न, सुविधा र बजेट नभई हुन्न !

सांसद पियारी थापाले पारिवारिक रुपमा चलाइरहेको संस्थालाई ६० लाख रुपैयाँ पार्न सफल



पोखरा, २६ असार : राष्ट्रिय जनमोर्चा सत्तारुढ पार्टी हो तर सत्तामा जाँदैन । अर्थात यो पार्टीबाट कोही मन्त्री बन्दैनन् । पार्टीले सत्तामा नजाने भन्दै ब्रान्डिङ खुबै गरेको छ । तर सत्ता बनाउन र ढाल्न तालाचाबी भने गण्डकी प्रदेशमा यही पार्टीसँग रह्यो ।

 

अघिल्लो सरकार ढलेर अहिलेको सरकार बनाउन प्रमुख भूमिका राजमोले नै खेलेको थियो । त्यस बेला उसको भनाइ प्रतिगमन विरुद्ध लोकतान्त्रिक गठबन्धन भन्ने थियो । तर यो पार्टीका जम्मा २ सांसद गाडी लगायत सुविधा पाउने गरी अहिलेको सरकारका समर्थक बनेका हुन् ।

 

 

हुन पनि यो सरकार बनेपछि सबै पार्टीका पदाधिकारीलाई गाडी लगायत सुविधा हुने गरी कानुन बनाइयो । प्रदेश सभा पदाधिकारीको सुविधासम्बन्धी कानुनमै संशोधन गरी सबै दलका पदाधिकारीलाई गाडी लगायत सुविधा दिइएको थियो । अघिल्लो सरकारका पालासम्म त्यस्तो सुविधा थिएन । राजमो संसदीय दलको नेताको हैसियतमा पियारी थापाले गाडी लगायत सुविधा पाइरहेकी छन् । अर्का सांसद खिमविक्रम शाहीले प्रदेश सभा मामिला सभापतिका हैसियतमा सुविधा उपभोग गरिहेका छन् ।

 

गण्डकी सरकारद्वारा १० करोडको गाडी खरिद !

 

वर्तमान सरकारले ल्याएको बजेटमा पनि राजमो सांसद पियारी थापाले पारिवारिक रुपमा चलाइरहेको संस्थालाई ६० लाख रुपैयाँ पार्न सफल भएकी छन् । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा छ उनको संस्था । संस्थाको नाम हो गाउँमैत्री अक्षकोष । त्यसलाई छोटकरीमा जिम्याक भनिन्छ । त्यसैको संग्रहालय बनाउने नाममा ६० लाख रुपैयाँ यसपालिको बजेटमा छ । यस अघिका बजेटमा पनि यो संस्थालाई रकम विनियोजन गर्न पियारी सफल हुँदै आएकी थिइन् । यसअघि पनि उनको पार्टी सत्तामा थिएन तर सरकारलाई समर्थन गरेको थियो । यसअघि नै पियारीको कोषले ६० लाख रुपैयाँ प्रदेश सरकारबाट लगिसकेको छ ।
जिम्याकको अध्यक्ष पियारीकै श्रीमान् हेमराज आश्रम हुन् । सचिव पियारीकी ठूलोबुवाकी छोरी सुकमाया पुन छिन् । उपाध्यक्ष सुकमायाका भेना चइन्द्रबहादुर थापा छन् । संस्थाको सल्लाहका सांसद पियारी नै बसेकी छन् ।

 

मन्त्रीका बाबुआमाको नाममा १ करोड, एउटै वडामा २५ करोड

 

यो संस्थाले नृत्य, गायन र साहित्यको विधालाई संरक्षण गर्ने भनिएको छ । ०६६ सालमा पियारी र उनका श्रीमान्ले यो कोष स्थापना गरेका थिए । कोषले काठेखोलामा एउटा भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

 

 

जनमोर्चा सांसद पियारी थापाले आफ्नो पारिवारिक कोषका लागि मात्रै नभई गृहपालिका काठेखोलामा २१ वटा योजनामा पनि बजेट पार्न सफल भएकी छन् । यो जानकारी उनको सचिवालयको फेसबुक पेजमा आइतबार सार्वजनिक गरिएको छ ।

 

ती २१ योजनामध्ये सबैभन्दा धेरै भने उनको आफ्नै पारिवारिक संस्थालाई ६० लाख रुपैयाँ छ । त्यसपछिको ठूलो बजेट डुडिया मोटरबाटोलाई ५० लाख, तंग्राम खानेपानीलाई ४० लाख छ ।

 

जुनै सरकारलाई पनि समर्थन गर्ने तर सरकारमा जान्नौं भनेर राजनीतिक आदर्श देखाएजस्तो पनि गरिरहने राजमोबारे टिप्पणी हुन थालेको छ—राजमोलाई सत्ता चाहिन्न, सुविधा र बजेट नभई हुन्न !

Comments Box