पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि सुधार गर्छौैं: मेयर आचार्य

लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण



पोखरा, २७ असार: पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्की बाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्ने अवस्था आउनुको पछाडिको कारण खोजिने र सुधार गरिने उनले बताए ।

 

उनले भारतमा ७÷८ वर्षको अन्तरालमा सरकारी विद्यालयको गुणस्तरमा फड्को मारेको उदाहरण दिँदै पोखरामा पनि छिट्टै विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा समुदायिक विद्यालय पर्नेगरी सुधार गर्ने बताए ‘देशभर कास्की बाहेकको अवस्था हेर्ने हो भने ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् । तर कास्की विशेषगरी पोखरामा हेर्ने हो भने ८५ प्रतिशत हाराहारीमा विद्यार्थी निजीमा जाने अवस्था छ । सामुदायिक विद्यालयमा आकर्षण ल्याउन किन सकिएन ? विद्यालयका प्रधानाध्यापक र सरोकारवालासंग बसेरै यस विषयमा कुरा गरौंला । ठूलो लगानी रहेको समुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन महानगर के गर्नुपर्छ, त्यो गर्छ । भारतमा ७÷८ वर्षको अन्तरालमा सरकारी विद्यालयको गुणस्तरमा फड्को मा¥यो । हामीकहाँ नसकिने भन्ने छैन । हामी पनि समुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको पहिलो रोजाई बनाउने गरि सुधार गरेरै छाड्छौं’ उनले भने ।

 

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पनि घर दैलोबाटै विद्यालय पु¥याउने प्रबन्धले विद्यार्थीको संख्या बढ्ने तर, त्यतिले मात्र नपुग्ने टिप्पणी गरेका छन् । ‘सामुदायिक विद्यालयका विद्यार्थी पनि घरदैलो बाटै बस चढेर विद्यालय पुग्न पाउने भएपछि केही संख्या बढ्न सक्छ । तर, संख्या बढाएर मात्र पुग्ने छैन । गुणस्तर बढाउँदै सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ’ उनले भने ।

 

मेयर आचार्यले पोखरामा घर या डेरा देखि स्कुलसम्म साना बाबुनानीहरुलाई बसमा चढाएर घण्टौं लगाएर विद्यालय पु¥याउने गरिएको भन्दै यो सहि नरहेको बताए । त्यसो गर्दा साना बाबुनानीहरु थकित हुने र राम्रोसंग अध्ययन गर्न रुचि नराख्ने उनको तर्क छ । त्यसको सट्टा एउटा निस्चित क्षेत्र तोकेर विकल्प दिने विषयमा सोच्नुपर्ने बेला आएको उनले बताए ।

 

कार्यक्रममा बोल्दै महानगरका उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्न गुणस्तरीय शिक्षा दिनुपर्ने बताइन् । उनले लामो मेहनत पछि बसहरु ल्याउन सफल भएको जानकारी दिँदै सम्बन्धित विद्यालयले सुविधासंगै गुणस्तर समेत बढाउनुपर्नेमा जोड दिइन् । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुल बसले विद्यार्थीको पहुँच बढ्ने र विद्यार्थीलाई सुरक्षित महसुस् गर्ने धारणा राखे ।

 

उक्त कार्यक्रममा लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । शिक्षा महाशाखामा आयोजना गरिएको कार्यक्रमका बीच मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र शिक्षा महाशाखा प्रमुखले पोखरा २९ को जनप्रकाश मावि, पोखरा ३० को त्रिभुवन शान्ति मावि, पोखरा ३१ को अम्मरसिंह मावि र पोखरा ३२ को ब्रह्मरुपा माविलाई स्कुल बसका चावी हस्तान्तरण गरेका हुन् ।

 

शिक्षा महाशाखाका अधिकृत विश्राज आचार्यका अनुसार सम्बन्धित विद्यालयले प्रति विद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै दरको लगानीमा बस ल्याइएको जानकारी दिए । एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको हो । उक्त बसहरुमा चालक बाहेक ४० सिट क्षेमता छ ।

Comments Box