कांग्रेस छाडेर स्वतन्त्र मेयर बनेका प्रह्लादको निर्णय – नगरप्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने

गर्भवती महिलाहरूलाई नि:शुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य बिमा गरिने



महोत्तरी, १२ जेठ: बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागी विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गरेका छन् ।

 

गर्भवती महिलाहरूलाई नि:शुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् ।

 

हिमाल, पहाड र तराइका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजार समेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिए ।

 

नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गरेका छन् । नगरबाट उपलब्ध भएको गाडिलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरी नगरको समस्याबाट नजिक रहने पनि बताए ।

 

बर्दिबासमा सबैभन्दा ठूलो समस्याकोरुपमा रहेको नदिजन्य वस्तुको उत्खनन‍्मा पनि तत्काल ध्यान दिने बताएका छन् । प्राविधिक तथा अनुगमन समिति बनाई नगरभित्रका क्रसर उद्योगलाई समेत व्यवस्थित बनाउनेमा नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाएका छन् ।

Comments Box