एउटा डाक्टर नपाएर चल्न सकेका छैनन अस्पताल; सरकार भन्छ; ‘डिजिटल हेल्थ’ कार्यान्वयनमा ल्याउने



प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था समेत मिलाइने बताएकी हुन् ।

 

उनले प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य‚ सूचना प्रणाली लागू गर्ने जनाएकी हुन् ।

 

साथै औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको विवरण अनिवार्य अद्यावधि गर्ने व्यवस्था सरकारले मिलाउने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

 

यद्यपि सरकारले चार वर्षअघि नै ल्याएको राष्ट्रिय ई-हेल्थ रणनीति अझै कार्यान्वनमा आउन सकेको छैन । त्यस्तै स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाइने पनि राष्ट्रपति भण्डारीले बताएकी छन् ।

 

यसका साथै सरकारले आगामी वर्ष सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने योजनासमेत बनाएको उनले बताइन् । साथै सरकारले सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ ।

 

यसका साथै ५-११ देखि वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप छिट्टै लगाउन सुरु गरिनेसमेत राष्ट्रपति भण्डारीले बताएकी छन् । यद्यपि सो समूहको बालबालिकालाई लगाउन आवश्यक पर्ने खोप कहिले र कहाँबाट प्राप्त हुन्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं निश्चित हुन भने सकिरहेको छैन ।

 

यस्तै सरकारले जेष्ठ नागरिकका लागि समेत विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भएको छ ।


२६ माघ २०७७, सोमबार

डाक्टर नपाएर चल्न सकेन अस्पताल

दुल्लु (रासस) जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए। अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको। गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो।

 

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो। बिडम्वना अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टर लागि निवेदन परेन। डाक्टरको निवेदन नपरेपछि गाउँपालिकाले अन्य दुई पदका लागि परीक्षासमेत स्थगन गरेको छ। चिकित्सकको दर्खास्त नपरेपछि महाबु अस्पताल सञ्चालन अन्योलमा परेको हुँदा स्थानीयवासीको उपचार गराउने सपना अधुरै रहेको छ। ‘‘अस्पताल बनाउँदा हामी जति खुशी भएका थियौँ, डाक्टर नआउने भनेपछि हामी त्यति नै दुःखी भएका छौँ। पैसा नहुँदा टाढा उपचार गर्न जान नसकिने गाउँमै डाक्टर आएमा उपचार गरौँला भनेका थियौँ तर अझै समय कुर्नु पर्ने हो डाक्टरको मुख हेर्न’’, स्थानीयवासी लवराज विकले भन्नुभयो।

 

विक मात्र होइन, सोही गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाको सपना अधुरै छ। घरआँगनमै डाक्टर आउलान् र उपचार गरौँला भन्ने चाहना तत्कालका लागि पूरा नहुने भएको छ। ‘‘सरकारले जसरी पनि अस्पतालमा डाक्टर पठाउला भन्ने आशा गरेका छौँ’’, स्थानीयवासी अमृत पाण्डेले भन्नुभयो। दर्खास्त आह्वान गर्दासमेत चिकित्सकको निवदेन नआएपछि महाबुको अस्पताल सञ्चालन अन्योलमा परेको छ।

 

महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० श्यया अस्पताल सञ्चालनका लागि २०७७ कात्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दर्खास्त आह्वान गरेको थियो। करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाँचौँ तहका लागि दर्खास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताउनुभयो। ‘‘अधिकृतका लागि कुनै पनि निवेदन नपरेपछि अन्य पदको समेत छनोट गरिएको छैन’’, अधिकृत मल्लले भन्नुभयो। स्टाफ नर्स र स्वास्थ्य सहायकमा भने केही निवेदन परेका छन्।

 

अस्पतालमा आवश्यक सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो। “अस्पतालका लागि चाहिने स्तरीय ल्याब, श्यया, उपकरण, भवनलगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा छ। “मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दा समेत दर्खास्त परेन”, अध्यक्ष शाहीले थप्नुभयो, “मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौँ।”

Comments Box