पर्वतारोहण संघको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह



नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बंैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।

 

 

संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।

 

संघको साधारणसभा विधानविपरित रहेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारबाही नगर्न आदेश दिएको उनीहरुको भनाई छ ।

संघका बहुसंख्यक सदस्यहरु, आरोहीहरु, पर्यटन मजदुरहर तथा पर्यटन व्यवसायीहरु हिमाल आरोहण तथा टे«किङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर २ वर्ष अगाडि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरित केन्द्रीय सचिवालयले भोलि गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।

 

यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा ०७८ चैत्र ९ गते बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पश्चात् स्थगित गरिएको थियो ।

 

‘भोलि बोलाइएको साधारणसभा आरोही, ट्रेकिङ मजदुर तथा पर्यटन व्यवसायीहरुलाई आफ्नै हक अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रको भण्डारफोर गर्दै हामी निन्दा गर्दछौ ।’–जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर २ वर्ष हुँदापनि कार्यसमितिको चुनाव गर्ने पहल नगरेको आरोप लगाए । संघलाई आफुहरुले धेरै दबाब दिएपनि आलटाल गरेपछि तुरुन्तै चुनाव गर्नुपर्यो र चुनावबाट नयाँ कार्यसमिति चुन्न पहल गरिदिन आग्रह गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको सुनाए । संघको चुनाव तत्काल गर्नुपर्छ भनेर आफूहरु काठमाडौंस्थित् सिडियो कार्यालय गएको उनले स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो साधारणसभा संघको विधानविपरित रहेकोले कुनैपनि कामकारवाही नगर्न लिखित आदेश दिएको हुनाले सबैले बहिष्कार गर्नुपर्ने धारणा राखे ।

 

त्यस्तै, नेता आङकाजी शेर्पाले नेपाल पर्वतारोहण संघले कार्यकाल सकिएको २ वर्षसम्म पनि निर्वाचन गर्न आलटाल गरेपछि जिल्ला प्रशासन कार्यालयले आगामी बैशाख २७ र २८ गते निर्वाचन घोषणा गरिदिएको सुनाए । उनले भने,‘नेपाल पर्वतारोहण संघले निर्वाचनमा आफ्नो पक्षका सदस्यहरु नभएपछि विधान मिचेर संशोधन गर्न साधारणसभाको आयोजना गरेको हो । यो सबै सदस्यले बहिस्कार गर्नुपर्छ ।’

 

पुर्व अध्यक्ष जिम्बा जाङ्वु शेर्पाले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए ।

Comments Box