विरोधका बाबजुद् सिंगापुरले दियो मलेसियन नागरिकलाई मृत्युदण्ड



एजेन्सी, लागुऔषध हेरोइन तस्करी गरेको भन्दै १३ वर्षदेखि जेलमा रहेका एक मलेसियन नागरिकलाई सिंगापुरले मृत्युदण्ड दिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई आज बिहानै मृत्युदण्ड दिइएको हो। उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको छ ।

धर्मलिंगम सन् २००९ मा पक्राउ परेका थिए। साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो। धर्मलिंगमका वकिलहरूले उनको बौद्धिक क्षमता कमजोर भएको भन्दै मृत्युदण्ड नदिन दर्जनौं निवेदन दिएका थिए ।

धर्मलिंगमलाई मृत्युदण्ड नदिन संसारभरिबाट हस्ताक्षर संकलन गरिएको थियो। मृत्युदण्ड नदिन उनकी आमाले दिएको निवेदन सिंगापुरको अदालतले खारेज गरिदिएपछि धर्मलिंगमलाई मृत्युदण्ड दिइएको हो ।

करिब ६० लाख जनसंख्या भएको सिंगापुर प्रतिव्यक्ति आम्दानीका आधारमा दक्षिणपूर्वी एसियाकै सबभन्दा धनी देश हो। कुनै पनि अपराधमा मृत्युदण्ड दिने कि नदिने भन्नेबारे सिंगापुरमा बहस जारी छ ।

त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ। लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ। थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन ।

Comments Box